खेल देश–समाज समाचार स्थानीय

दमक भेट्रान कप सुरु, आयोजक निलो र उर्लाबारी भेट्रानको विजयी सुरुवात

दमक — कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ मा आयोजक दमक भेट्रान निलो र ढल्केजोवन भेट्रान उर्लाबारीले विजयी सुरुवात गरेका छन् । बिहीबार दमक–२ बेलडाँगी खेलमैदानमा भएको खेलमा दमक निलोले दमक जदालाई ३–१ र उर्लाबारीले धरान बुढासुब्बा भेट्रानलाई ३–० गोलले पराजित गरे ।

पहिलो खेलमा दमक निलोका गंगा लिम्बूले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि दमक जदाका जगेस चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याए । १९ औं मिनेटमा हरि शर्माले गोल गरेपछि दमक निलोले पहिलो हाफमै २–१ को अग्रता बनायो ।

खेलको थपिएको समयको अन्तिम मिनेटमा शर्माले व्यक्तिगत दोस्रो गोल गरेपछि दमक निलो ३–१ ले विजयी भयो । जितसँगै निलो क्वार्टरफाइनलमा पुगेको छ । उसले अब १७ गते बिर्तामोड भेट्रानसँग खेल्नेछ ।

दोस्रो खेलमा उर्लाबारीले पहिलो हाफमै दुई गोलको अग्रता बनायो । रोजिन शिवाकोटीले १९ औं मिनेटमा गोल गरे भने त्यसको चार मिनेटपछि विनोद लामाले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा शिवाकोटीले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि उर्लाबारी ३–० ले विजयी भयो ।

खेलका क्रममा उर्लाबारीका कमल खवास र धरानका सूर्यबहादुर राईले पहेँलो कार्ड पाए । जितसँगै उर्लाबारी क्वार्टरफाइनलमा पुगेको छ । उसले १७ गते दमक रातो भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विजेताको पुरस्कारमा दमकस्थित माया क्याफेले १ लाख रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ ।

दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता भइरहेको छ । उद्घाटन समारोहमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं प्रमुख अतिथि थिइन् । आयोजक संस्थाका सचिव ज्ञानेन्द्र राईले स्वागत मन्तव्य राखेका थिए ।

प्रतियोगिताका खेल २५–२५ मिनेटका गरी ५० मिनेट खेलाइने रेफ्री इजु तामाङले बताए । उद्घाटनका अवसरमा पुराना खेलाडीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको थियो । बिहीबार केश मगर, गजेन्द्र देवान, गणेश चाम्लिङ राई, लक्ष्मी रिजाल र हस्तबहादुर दर्लामी सम्मानित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार मिक्लाजुङ भेट्रान र चन्द्रगढी भेट्रान तथा मिल्स भेट्रान र काकरभिट्टा भेट्रानबीच खेल हुनेछ ।

Author

You may also like