दमक/ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लब घोषणा गरेको छ । सोमबार सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले क्लब घोषणा गरेको थियो ।
क्लब घोषणासँगै रास्वपाले ४६० गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, तीन हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्यका लागिमात्र आवेदन आह्वान गरेको छ ।
यस क्लबमा ६ महानगरपलिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिकाका प्रमुख/उपप्रमुख, तीन हजार ५८ वडाध्यक्ष र १२ हजार २३२ वडा सदस्यको हकमा आवेदन दिन सकिने छैन । आगामी वैशाखमा हुने ७५३ स्थानीय तहका लागि २९३ प्रमुख/उपप्रमुख, ४६० अध्यक्ष/उपाध्यक्ष, ६ हजार ७४३ वडा अध्यक्ष र २६ हजार ९७२ वडा सदस्यका लागि निर्वाचन हुँदैछ । रास्वपाले चितवनमा भएको प्रथम महाधिवेशन अगाडि नै स्थानीय तह निर्वाचनको तयारी थालेको थियो । साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १ गतेदेखि स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको लागि क्यान्डिडेट क्लब मार्फत आह्वान गर्ने निर्णय गरेको थियो ।
पार्टीको उम्मेदवार छनोट एप आधिकारिक रूपमा खुला गर्दै सभापति रवि लामिछानेले पावर, पहुँच र पैसाको बलमा उम्मेदवार बन्न खोज्नेको उम्मेदवारी खारेज भएको घोषणा गरे ।
‘कोही कसैले कोठामा बसेर, चोटामा बसेर, सभा, कार्यक्रममा बसेर, बिनाआधार, बिनाकारण, बिनानिर्णय, आफ्नो मर्जीले उम्मेदवार तपाईं नै हो भनेर ज–जसले जहाँ–जहाँ भन्नुभएको छ, बेच्नु भएको छ, उपहार दिनुभएको छ । ती सबै खारेज भएको जानकारी दिन चाहन्छु,’ उनले भनेका थिए । साथै, रविले महाधिवेशनमा एकता समायोजनको काम सबै सकिएकाले पार्टीभित्र अब कुनै गुट उपगुट नचल्ने स्पष्ट पारे ।
‘महाधिवेशनपछि समायोजनको काम सबै समाप्त भएको छ । अब एउटा रास्वपा छ । एउटा लिडरशिप छ, फरक फरक छैन । कसैले भन्न सक्ला– म यो गुटको, मेरो नेता यो हो, ऊ हो । त्यसबाट मनोरञ्जन बाहेक केही पनि लिन सक्दैन । एउटा रास्वपा, एउटा घण्टी । त्यसैले समायोजनका काम महाधिवेशनबाट गरिसकेका छाँै’, उनले भनेका थिए । यसअघि विशेष परिस्थितिमा निर्वाचन र समायोजनको काम भएकाले क्यान्डिडेट क्लब मार्फत उम्मेदवार छनोट हुन नसकेको रविले स्वीकार गरे ।