दमक/ मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा शेयर सदस्य संख्या २१ हजार ७७३ पु¥याउने लक्ष्य सार्वजनिक गरेको छ  । संस्थाको ३०औँ वार्षिकोत्सव तथा ३२औँ साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै सहकारीले बचत, कर्जा, शेयर पुँजी र कोष विस्तारसहितको वित्तीय लक्ष्य अघि सारेको हो । आगामी आर्थिक वर्षमा संस्थाले शेयर पुँजी ४३ करोड ५५ लाख ८ हजार ५ सय रुपैयाँ, बचत ४ अर्ब ४० करोड ६८ लाख ८० हजार रुपैयाँ र कर्जा लगानी ४ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ । यस्तै, कोष ४८ करोड ७३ लाख ८ हजार ५ सय रुपैयाँ, मुनाफा ६ करोड ५ लाख ५५ हजार रुपैयाँ र वासलात ५ अर्ब ४८ करोड ६३ लाख ३३ हजार रुपैयाँ पु¥याउने लक्ष्य प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले सदस्यसँगको आर्थिक कारोबार विस्तारसँगै आगामी वर्ष विभिन्न नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ । कृषक सदस्यसँग सहकारी कार्यक्रम सञ्चालन गर्न स्थानीय सहकारी तथा दुग्धजन्य पशुपालनका लागि जग्गा भाडामा लिने, उत्पादन बिक्रीका लागि सहजीकरण गर्ने तथा आवश्यकताअनुसार वित्तीय सहयोग गर्ने योजना संस्थाको छ ।
त्यसैगरी, नियामक निकायबाट स्वीकृति प्राप्त भएमा मेची सहकारी आवास परियोजनाका लागि जग्गा खरिद गर्ने र योजना अघि बढाउने तयारी गरिएको छ । संस्थाले आन्तरिक पर्यटन विकासका लागि दमकमा रहेको जग्गामा अध्ययन गरी पर्यटकीय पूर्वाधार निर्माणका लागि आवश्यक बजेट छुट्याउने योजना पनि अघि सारेको छ ।
संस्थाले सदस्यको व्यवसायिक क्षमता अभिवृद्धिका लागि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी र सदस्यलाई विभिन्न तालिम तथा वृत्तिविकासका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संस्थाका अनुसार हाल दमकसहित विभिन्न स्थानमा १२ वटा सेवा कार्यालय सञ्चालनमा रहेका छन् ।
संस्थाले आगामी वर्ष १५ प्रतिशतदेखि ६ प्रतिशतसम्म कायम गरिएको कर्जाको ब्याजदर तथा सदस्यलाई सहुलियत दिने नीतिलाई निरन्तरता दिने जनाएको छ । सदस्यको व्यवसाय वृद्धि, स्वरोजगार, शिक्षा र उद्यममा लगानी गरी आर्थिक गतिविधिमा सहजीकरण गर्ने नीति पनि संस्थाले लिएको छ ।
प्रतिवेदनअनुसार संस्थाको हालको वासलात ४ अर्ब ५१ करोड २२ लाख २० हजार ५ सय ५२ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक कारोबारबाट राज्यलाई विभिन्न शीर्षकमा करसमेत भुक्तानी गर्दै आएको जनाएको छ । पत्रकार सम्मेलन संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको उपस्थितिमा संस्थाका प्रेस संयोजक नरपति पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । सचिव राजेन्द्रप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदम थापाले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष भट्टराई र व्यवस्थापक चन्द्रप्रसाद थापाले संस्थाको प्रतिवेदन तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।

Author

You may also like