देश–समाज मुख्य राष्ट्रिय समाचार स्थानीय

झापासहित कोशीका आठ जिल्लामा बाढीको उच्च जोखिम

दमक । मनसुन सक्रिय भएसँगै कोशी प्रदेशमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन झापासहित कोशी प्रदेशका आठ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यसैबीच, झापा पछिल्ला पाँच वर्षमा चट्याङबाट सबैभन्दा बढी मानवीय क्षति हुने जिल्ला बनेको छ भने प्रदेशका विभिन्न राजमार्ग पहिरो र बाढीका कारण प्रभावित हुँदा जनजीवनसमेत प्रभावित भएको छ ।
प्राधिकरणका अनुसार झापा, इलाम, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ र धनकुटामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । लगातारको वर्षासँगै नदी तथा खोलामा आकस्मिक बाढी, पहिरो, डुबान, कटान र गेग्रान बहावको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । रातिको समयमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्न पनि अनुरोध गरिएको छ ।
कोशी प्रदेशमा वर्षाका कारण सडक सञ्जालसमेत प्रभावित भएको छ । इलामको राजदुवाली क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ भने ताप्लेजुङको खोक्से खोलामा सडक पूर्ण रूपमा बन्द हुँदा यातायात ठप्प बनेको छ । भोजपुरको बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ । प्रदेश बाहिरका बीपी राजमार्ग, अरनिको राजमार्ग, कान्ति लोकपथ, कालीगण्डकी करिडोरलगायतका सडक पनि पहिरोका कारण प्रभावित हुँदा लामो दूरीका यात्रु थप सास्तीमा परेका छन् ।
यसबीच सार्वजनिक गरिएको प्रदेश प्रहरीको तथ्यांकले झापा चट्याङबाट सबैभन्दा बढी प्रभावित जिल्ला रहेको देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ देखि चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म झापामा मात्रै चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । जुन प्रदेशकै उच्च संख्या हो । इलाम, सुनसरी, भोजपुर, उदयपुर र खोटाङमा सात(सात जनाको मृत्यु भएको छ । यही अवधिमा प्रदेशभर चट्याङबाट ६६ जनाको मृत्यु, २१८ जना घाइते, एक हजार ३२ पशुचौपाया मरेका तथा १७० घरगोठमा आगलागी हुँदा तीन करोड ७२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान कार्यालय धरानका अनुसार कोशी प्रदेशमा चट्याङको वैज्ञानिक अभिलेख राख्ने लाइटनिङ डिटेक्सन नेटवर्क प्रभावकारी रूपमा सञ्चालनमा छैन । धरान कार्यालयमा रहेको उपकरण बिग्रिएको छ भने विराटनगर विमानस्थलमा रहेको उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र सीमित रेकर्ड राख्ने भएकाले प्रदेशभरको वास्तविक तथ्यांक संकलन हुन सकेको छैन । यसले पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनलाई कमजोर बनाएको विज्ञहरूको भनाइ छ ।
वरिष्ठ मौसमविद् विभूति पोखरेलले जलवायु परिवर्तनसँगै मेघगर्जन र चट्याङका घटना बढ्दै गएको बताउँदै खेतबारी, खुला चौर, अग्ला रुख, बिजुलीका पोल तथा धातुजन्य वस्तु नजिक बस्न नहुने सुझाव दिएकी छन् । उनले मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय तहले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् ।
विपद् विज्ञहरूका अनुसार बाढी, पहिरो र चट्याङको जोखिम एकैसाथ बढिरहेका बेला झापासहित कोशी प्रदेशका जिल्लामा पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार सामग्रीको व्यवस्थापन तथा स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउन नसके मनसुनजन्य विपद्ले थप मानवीय तथा आर्थिक क्षति पु¥याउने खतरा रहेको छ ।

Author

You may also like