दमक÷ वर्षौंदेखि जीर्ण सडकका कारण स्थानीयासीले सास्ती खेप्दै आएकै कारण दमकका विभिन्न वडाहरुमा दर्जनौ बाटाहरु बनिसकेका र बनिरहेका छन् । यद्यपि कतिपय बाटोहरु बनाउने क्रममा रहेकै बेला परेको पानीले हिलाम्मे सडकमा धान रोपाई गरेर तीनै तहका सरकारकाहरुको ध्यानाकर्षण गराउन रोपाई गरिएको भनिएको छ । वर्षा लाग्ने वित्तिकै २ दिन सामान्य परेको पानीबाट हिलाम्मे बनेको सडकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई जोडेर समाचारहरु बनाइएका छन् ।
भर्खर दुई महिना टेक्दै आएको बालेन्द्र सरकारले ३ दशक बढी रोपेका विकृतिका जडको मेसो पत्ता लगाउन मै व्यस्त छ । विरोध गर्नुपर्छ । विरोध गर्ने भन्दैमा विरोधकै लागि मात्र गरिनु हुन्न ? स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सांकेतिक आन्दोलनस्वरूप सडकलाई नै खेत बनाएर धान रोपेका छन् । वर्षायाम सुरु भएसँगै झापाको दमक नगरपालिका–९ र १० जोड्ने सडक पुनः हिलाम्मे बनेपछि स्थानीय बासिन्दाले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।
सडकभरि पानी जमेर खाल्डाखुल्डी परेपछि आवतजावत गर्नै कठिन भएको र पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नभएपछि स्थानीय धानको बेर्ना बोकेर सडकमा उत्रिएका थिए । उनीहरूले सडकको दुरवस्थाले दैनिक जीवन कष्टकर बनेको भन्दै तत्काल स्तरोन्नति र कालोपत्रेको माग गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपास पर्ने यो सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने समस्याबाट वर्षौंदेखि ग्रस्त छ । स्थानीयका अनुसार सडकको अवस्थाले बिरामीलाई अस्पताल पु¥याउन, बालबालिकालाई विद्यालय पठाउन र किसानका उत्पादन बजारसम्म लैजानसमेत कठिनाइ भइरहेको छ ।
विरोध कार्यक्रममा सहभागी किसान नगेन्द्रमणि न्यौपानेले चुनावका बेला विकासका आश्वासन दिने नेताहरू जितेपछि जनताका आधारभूत समस्या बिर्सने गरेको आरोप लगाए । उनले वडा, नगरपालिका, प्रदेश र संघीय सरकारसम्म पटक–पटक धाउँदा पनि सडक निर्माणको काम अघि नबढेपछि वास्तविक अवस्था देखाउन सडकमै धान रोप्न बाध्य भएको बताए ।
स्थानीय सुरेश धिमालले वर्षा सुरु भएपछि मोटरसाइकलसमेत चलाउन नसकिने र विद्यालय जाने बालबालिका हिलोमा लड्ने गरेको बताए । उनले सडक निर्माणको जिम्मेवारी एकले अर्कामाथि थोपर्ने प्रवृत्तिका कारण समस्या झन् जटिल बनेको टिप्पणी गरे ।
गाउँका पदम भण्डारीले बिरामी पर्दा एम्बुलेन्ससमेत गाउँसम्म पुग्न नसक्ने अवस्था रहेको भन्दै सडकमा धान रोप्नु रहर नभई बाध्यता भएको बताए । अर्का स्थानीय केदार खतिवडाले जनताको धैर्यको सीमा नाघिसकेको भन्दै यो आन्दोलन राज्यको उदासीनताविरुद्धको सांकेतिक विद्रोह भएको उल्लेख गरे ।
स्थानीय बासिन्दाले अब पनि सडक स्तरोन्नति र कालोपत्रेको काम सुरु नभए नगरपालिका घेराउसहित थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । स्थानीय भेषराज थापाले आन्दोलन कुनै राजनीतिक स्वार्थका लागि नभई हिँड्न मिल्ने सडकको मागका लागि गरिएको स्पष्ट पारे। उनले विकासका प्रतिबद्धता धेरै सुनिए पनि परिणाम नदेखिएकाले सडकमै धान रोपेर सम्बन्धित निकायलाई गम्भीर सन्देश दिन खोजिएको बताए ।

Author

You may also like