विराटनगर । मोरङमा वैदेशिक रोजगारी, सुनचाँदी कारोबार तथा मिटरब्याजसँग सम्बन्धित ठगीका उजुरी बढ्दै गएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार नयाँ सरकार गठनपछि पीडितहरू न्यायको अपेक्षासहित उजुरी दिन आउने क्रम उल्लेखनीय रूपमा बढेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–७ की विष्णु गिरीले सुनचाँदी व्यवसायीबाट २९ लाख रुपैयाँभन्दा बढी ठगी भएको भन्दै दुई साताअघि प्रशासन कार्यालयमा निवेदन दिएकी छन्। प्रशासनले उनको निवेदनमाथि छानबिन अघि बढाएको जनाएको छ। गिरीजस्तै सुनचाँदी कारोबारमा ठगिएका अन्य सयौं व्यक्ति पनि सम्पर्कमा आउन थालेका छन् ।
यसैबीच, रोमानिया पठाइदिने प्रलोभनमा युवाबाट रकम असुली गरेको आरोपमा मोरङका उद्धव पाठक पक्राउ परेका छन् । उर्लाबारीस्थित केएसए इन्टरनेसनल म्यानपावरमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै उनले करोडौं रुपैयाँ ठगी गरेको आरोप छ। मोरङ प्रहरीका अनुसार पाठकविरुद्ध हालसम्म १५५ व्यक्तिगत र ११३ सामूहिक निवेदन परेका छन्। ठगी रकम २ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार २०८३ वैशाख १ गतेयता मात्रै वैदेशिक रोजगारीका नाममा ठगी भएको भन्दै ६५ नयाँ निवेदन दर्ता भएका छन्। सो अवधिमा प्रशासनले ८८ लाख ६२ हजार रुपैयाँ पीडितलाई फिर्ता गराएको छ भने ३० वटा मुद्दा फछ्र्योट गरेको छ। ठगीमा संलग्न भनिएका व्यक्ति तथा संस्थाका ९ वटा बैंक खाताको कारोबारसमेत रोक्का गरिएको छ ।
मिटरब्याजसम्बन्धी उजुरी पनि उच्च रहेको प्रशासनले जनाएको छ। चालु आर्थिक वर्षको चैत २७ गतेसम्म १६९ उजुरी दर्ता भएका छन्। तीमध्ये ५० वटा मुद्दा फछ्र्योट हुँदा ८ करोड ३८ लाख ५४ हजार रुपैयाँभन्दा बढी नगद तथा ९ विगाहा १२ का ९ धुर जग्गा पीडितलाई फिर्ता गरिएको प्रशासन कार्यालयले जनाएको छ।
यस्तै, मिटरब्याजसम्बन्धी १६९ उजुरीमध्ये ५० वटा फछ्र्योट हुँदा ८ करोड ३८ लाख रुपैयाँभन्दा बढी नगद र ९ विगाहा १२ का ९ धुर जग्गा पीडितलाई फिर्ता गरिएको प्रशासनले जनाएको छ।