दमक । राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) को देशव्यापी जिल्ला अधिवेशन शनिबारदेखि सुरु भएको छ। वडा र पालिका तहका अधिवेशन तथा निर्वाचन सम्पन्न गरेपछि पार्टीले अब जिल्ला तहमा नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो। पार्टीले तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संगठनात्मक संरचनामा रूपान्तरण हुने अभियानअन्तर्गत जिल्ला अधिवेशनलाई महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार राष्ट्रिय महाधिवेशनअघि देशका ७७ मध्ये ६७ जिल्लामा जिल्ला अधिवेशन तथा निर्वाचन सम्पन्न गरिनेछ। शनिबार सातवटै प्रदेशका ३८ जिल्लामा मतदान तथा नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ भने आइतबार थप २७ जिल्लामा निर्वाचन हुनेछ। विशेष संगठनात्मक परिस्थितिका कारण एक जिल्लाको निर्वाचन जेठ २६ गते हुने र सोही दिन बागमती प्रदेशबाट प्रादेशिक अधिवेशनको पनि सुरुवात गरिने पार्टीले जनाएको छ। बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि सञ्चालन गरिनेछ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशन पार्टीको संगठनात्मक सुदृढीकरणका लागि महत्वपूर्ण खुड्किलो भएको बताए। उनले स्वच्छ र प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने भएकाले तदर्थ जिम्मेवारीलाई स्थायी अधिकार ठान्ने प्रवृत्तिको अन्त्य हुने विश्वास व्यक्त गरे। निर्वाचनलाई निष्पक्ष बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय र प्रदेशमा पाँच सदस्यीय निर्वाचन समिति परिचालन गरिएको पनि उनले जानकारी दिए।
निर्वाचन आयोगको विवरणअनुसार हालसम्म देशभर ४ हजार २४६ वडा समिति र ५१२ पालिका समितिको अधिवेशन सम्पन्न भइसकेको छ। पार्टीले यसलाई आफ्नो आन्तरिक लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
यसैबीच झापामा जिल्ला सभापति चयनका लागि मतदान सुरु भएको छ। सभापति पदका लागि लक्ष्मण बस्नेत, अर्जुनकुमार मैनाली र ओम भण्डारी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उपसभापति, सचिव, सहसचिव तथा सदस्य पदहरूमा समेत उम्मेदवारी दर्ता भएको छ। अधिवेशनमा पालिका तथा विभागीय प्रतिनिधिसहित करिब ८ सय प्रतिनिधि सहभागी रहेको जनाइएको छ।
जिल्ला अधिवेशनको अवसरमा पार्टी सभापति रवि लामिछानेले नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थ र संकीर्ण सोच त्यागेर सामूहिक भावनाका साथ अघि बढ्न आग्रह गरेका छन्। शुभकामना सन्देश जारी गर्दै उनले अधिवेशन र महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको विधि, पद्धति, अभ्यास र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताए।
लामिछानेले पार्टीको हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्नु नै रास्वपाको संस्कार भएको बताए। उनले पार्टीलाई उन्नत लोकतान्त्रिक शक्तिका रूपमा विकास गर्न विचारसँगै व्यवहार, शैली र राजनीतिक संस्कार पनि परिष्कृत हुनुपर्ने धारणा राखे ।
उनले पद, जिम्मेवारी वा भविष्यका राजनीतिक अवसरको अपेक्षामा नेतृत्वका लागि अनावश्यक प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढ्न नदिन अधिवेशनले भूमिका खेल्नुपर्ने सुझाव दिए । पार्टी आजको अवस्थामा पुग्नु केही व्यक्तिको प्रयासले मात्र नभई मतदाता र सम्पूर्ण सदस्यहरूको समर्पणबाट सम्भव भएको उनको भनाइ थियो ।
रास्वपाको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताउँदै लामिछानेले संगठनलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुँदै धैर्य, त्याग र समर्पणका साथ अघि बढ्न सबै नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।