:–गोपाल झापाली –ः
दमक / झापामा मुख्य गरि ५ ओटा खोलाको कटान बढि जोखिमपूर्ण रहेको छ । सोहि कारण यि खोलामा डेढ दशक भन्दा लामो समय देखि तटबन्धनको काम भई रहेको छ । तर अझै पनि जोखिम निम्त्याउने खोलामा जारी तटबन्धको काम पूरा नहुँदा तटीय क्षेत्रका बासिन्दा ढुक्क हुन पाएका छैनन् ।
जोखिमका बस्ती जोगाउन भन्दै त्यहाँका पाँचवटा ठूला खोलानदीमा १७ वर्षदेखि तटबन्ध निर्माणको काम भइरहेको छ । तर, लक्ष्यअनुसार काम अघि नबढ्दा हरेक वर्ष दर्जनौ गाउँ डुवानमा पर्ने गरेका छन् । २०७६ सालमा तयार पारिएको डीपीआरअनुसार यहाँका रतुवा(मावा, कमल, कन्काई, बिरिङ र मेची नदीमा गरी ३०३.६६ किलोमिटर तटबन्ध गर्नुपर्ने थियो । सोहि अनुसार अहिलेसम्म मुस्किलले १ सय ३६ किलोमिटरमात्र काम भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका अनुसार सबैभन्दा बढी रतुवा मावामा ९० दशमलव ८५ किलोमिटर तटबन्ध गर्नुपर्ने छ । आयोजना कार्यालय प्रमुख विजय रेग्मीका अनुसार त्यसमध्ये हालसम्म करिब ४० किलोमिटर तटवन्ध भएको छ । त्यस्तै बिरिङमा ६५ दशमलव ९ किलोमिटर तटबन्ध गर्नुपर्नेछ । यहाँ हालसम्म मुस्किलले ३० किलोमिटर तटबन्ध गरिएको छ । ५३ दशमलव १ किलोमिटर तटबन्ध गर्नुपर्ने कन्काईमा हालसम्म ३० किलोमिटर हाराहारी मात्र भएको छ ।
यसैगरी कमल खोलामा ४६ दशमलव ८४ किलोमिटर तटबन्ध गर्नुपर्नेमा अहिलेसम्म करिब १६ किलोमिटरमात्र तटबन्ध भएको छ । नेपाल(भारत सीमा मेची नदीमा ४६ दशमलव ९७ किलोमिटर तटबन्ध गर्नुपर्नेमा अहिलेसम्म १२ किलोमिटरमात्र सुरक्षित गरिएको छ । यी नदीमा तटबन्ध गर्न संघीय सरकारका साथै राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत एसियाली विकास बैंकले लगानी गरेको छ । नदि कटान र डुबानबाट सबैभन्दा बढी प्रभावित बन्दैआएको झापा गाउापालिकाको सुगाबथान र कबाडी बस्तीका साथै शिवसताक्षी खोला किनाराका बासिन्दा बर्खा लागेपछि निदाउनै पाउँदैनन् । कन्काईमा थोरै बाढी आउँदा पनि धार सोझै बस्तीतिर छिर्ने गरेको झापा गाउँपालिका २ का रामनारायण शाहाले बताए । यी बस्ती जोगाउन तटबन्ध निर्माण भइरहेकाले आउादो बर्खामा भन बाढी नपस्ला कि भन्ने आशा छ तर ढुक्क छैनन् । खोलामा बाँध बनि रहेकाले यस वर्ष त बाढी नपस्लाकि भन्ने आशा रहेको स्थानीय सुकुमुनि टुडूले बताईन् ।
डुबानको समस्या झेल्दै आएका स्थानीयलाई यसको त्रासबाट जोगाउन तटबन्ध निर्माणका लागि बारम्बार आयोजना कार्यालयलाई दबाब दिनुपरेको झापा गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले पनि डुबान प्रभावित बस्ती जोगाउन तटबन्ध निर्माणलाई तिव्रता दिन पहल गर्दैआएको जनाएको छ । समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तटबन्धन निर्माणलाई तिव्रता दिन पटक पटक निर्देशन दिईएको जनाएका छन् । डीपीआरअनुसार झापाका पाँच नदीमा तटबन्ध पूरा गर्न १७ अर्ब ६१ करोड ७ लाख २२ हजार लाग्ने अनुमान छ । तर, सरकारले वार्षिक विनियोजन गर्ने झिनो बजेटले डीपीआरको लक्ष्य भेट्न कठिन रहेको देखिन्छ ।