दमक/पहिले फलामे ढोका भनिने गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज विहीबारदेखि शुरु हुँदैछ । यसपटकको परीक्षामा देशभरिबाट ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थीहरु सामेलन हुने भएका छन् । परीक्षाका लागि सम्पूर्ण तयारी बुधबारनै पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नयाँ बालेन सरकार बनेपछि यसपटक अघिल्ला वर्षहरुको परम्परालाई तोड्दै परीक्षा केन्द्रमानै विद्यार्थीहरुको उत्तरपुस्तिका जाँच गर्ने र १ महिनाभित्र नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको छ । यसबाट एसईई परीक्षामा पनि क्रमभंगता हुन लागेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले बिहीबार बिहान ८ बजेदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । जम्मा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने उनले जानकारी दिए ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । ज्ञवालीका अनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षा केन्द्र रहेको छ जहाँबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन् ।
यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीनपटकसम्म परीक्षा दिने अवसर दिने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थीहरू पनि यसपटक परीक्षामा सहभागी हुनेछन् ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कार्यतालिका छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । आउँदो २९ गते सकिने परीक्षाको क्रममा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइने छैन ।
झापामा १७ हजार ६६३ परीक्षार्थी
यता झापामा यस वर्ष १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । नियमित परीक्षार्थी १५ हजार ४०१ , नियमित प्राविधिक धारतर्फ ५७४ र बाँकी ग्रेड वृद्धि परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले बताए । परीक्षामा सामुदायिक १६३ र संस्थागत २४५ गरी ४०८ वटा विद्यालय सहभागी हुँदैछन् । नियमिततर्फ ७ हजार ७२३ छात्रा र ७ हजार ६७८ छात्र तथा ग्रेडवृद्धितर्फ १ हजार २०९ छात्रा र १ हजार ५३ छात्र परीक्षामा सहभागी हुन लागेको बस्नेतले जानकारी दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र
आज….७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई हुनेछ ।