अर्थ देश–समाज शिक्षा समाचार स्थानीय

दमक नपाको शिक्षा परिषद बैठक : शिक्षामा अढाई करोड बजेट

दमक । विषम परिस्थितिमा पनि गुणस्तरीय शिक्षाका लागि विद्यालय सुधारमा लागि परेको दमक नगरपालिकाले नगर विद्यालय शिक्षा परिषद बैठक सम्पन्न गरेको छ ।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा आयोजित सो बैठकमा २०७९–०८० देखि हालसम्म गरेका प्रगतिको समिक्षा र भावी रणनीतिका विषयमा छलफल सहित पुनः विद्यालय सुधारका लागि आवश्यकीय कार्ययोजना तयार पारी प्रतिवेदन बुझाउन नगरप्रमुख रामकुमार थापाको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरेको छ ।
सो समितिको सदस्यहरुमा रेगिना भट्टराई प्रसाई (उपप्रमुख), कुवेर भट्टराई (शिक्षा समिति संयोजक), प्रविण खड्का (शिक्षा शाखा प्रमुख), जयबहादुर श्रेष्ठ, डिल्ली भट्टराई, टेकनाथ भण्डारी, रमेश गुरागाई र सिताराम ढकाल रहेका छन् । सो समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने र आवश्यक बजेटको व्यवस्थापनबाट कार्यक्रम अगाडि बढाइने नगरप्रमुख थापाले बताए । थापाले तीन वर्षमा धेरै सुधारका कार्यक्रम भएको र अबको एक वर्षलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको औंल्याए । भदौ २३-२४ को अकल्पनीय आन्दोलन नभएको भए अझै धेरै शिक्षा क्षेत्रका काम गर्ने योजना रहेको पनि सुनाए । थापाले उक्त विषम परिस्थितिका बाबजुद शिक्षाका लागि पहिलो प्राथमिकतामा राखेर काम भईरहेको सुनाए । सोही कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रविण खड्काले तीन वर्षमा शिक्षाका क्षेत्रमा दमक नगरपालिकाले गरेका कामहरु र भावी कार्यक्रमको विषयमा बताएका थिए ।
उनका अनुसार दमक नगरपालिकाले सञ्चालन गरेको “दमक शिक्षा सुधार कार्यक्रम” प्रभावकारी बन्दै गएको देखियो । नेपालको संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेसँगै नगरपालिकाले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गर्दै सबै बालबालिकामा समतामूलक पहुँच विस्तार गर्ने उद्देश्यले यो योजना कार्यान्वयनमा ल्याएको बताए ।
आर्थिक वर्ष २०७९\८० देखि सुरु भएको यस कार्यक्रमलाई नगर कार्यपालिकाले २०८० चैत २४ गते औपचारिक रूपमा स्वीकृत गरेको थियो। नगरभित्रका २१ वटै सामुदायिक विद्यालयलाई समेटेर ९ वटा सम्पादन क्षेत्र र ६३ सूचकका आधारमा योजना लागू गरिएको छ। यसले संस्थागत विकास, शिक्षण सिकाइ, भौतिक पूर्वाधार, सूचना प्रविधि, विद्यार्थी सहयोग, मूल्यांकन लगायतका क्षेत्रमा सुधार ल्याउने लक्ष्य राखेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य आधारभूत तह कक्षा ८ सम्मको शिक्षा निःशुल्क बनाउनु, अंग्रेजी माध्यममा पठनपाठनलाई प्रवद्र्धन गर्नु, विद्यालयलाई प्रविधिमैत्री बनाउनु र शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्नु रहेको छ । साथै स्थानीय पाठ्यक्रम विकास, स्वास्थ्य सेवा व्यवस्था, नियमित अनुगमन तथा विद्यालय व्यवस्थापनमा सुधार पनि प्राथमिकतामा राखिएको छ ।
पहिलो वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा दोस्रो वर्ष २ करोड र तेस्रो वर्ष २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस अवधिमा शिक्षक व्यवस्थापन, विद्यार्थीका लागि परीक्षा शुल्क तथा टाइ(बेल्ट अनुदान, विद्यालयमा सीसी क्यामेरा जडान, स्मार्ट प्रविधि विस्तार, भौतिक पूर्वाधार निर्माण तथा मर्मतजस्ता कार्यक्रम सञ्चालन भएका छन् ।
हालसम्मको उपलब्धिअन्तर्गत आधारभूत तहसम्मको शिक्षा निःशुल्क भएको, सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएको, सूचना प्रविधिको प्रयोग बढेको र विद्यालयहरूको नियमित अनुगमन प्रभावकारी बनेको नगरपालिकाले जनाएको छ। साथै अंग्रेजी माध्यममा पढाइ विस्तार हुनुका साथै शिक्षक तथा कर्मचारीको पारिश्रमिक वृद्धि गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा पनि २ करोड ५० लाख बजेटसहित कार्यक्रमलाई थप सुदृढ बनाउने योजना छ । शिक्षक व्यवस्थापन, स्वास्थ्य सेवा, पूर्वाधार विकास, आईटी ल्याब स्थापना, पुस्तकालय स्तरोन्नति, अनुसन्धान तथा तालिम कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
नगरपालिकाले यस योजनामार्फत शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार ल्याई गुणस्तरीय र व्यवहारिक शिक्षाको आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ ।
सो समिक्षात्मक बैठकमा उपस्थित विगतको समिक्षा गर्दै अझै विद्यालयमा समस्याहरुको भएको सम्बन्धित विद्यालयका प्रधानअध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुले बताएका थिए । उनीहरुले इन्सेन्टीभका कुरा, अनुगमनका कुरा, विजुली, पानी, अतिरिक्त क्रियाकलाप, फोहोर व्यवस्थापन, सरसफाई कर्मचारी, यातायात, विद्यालयको वार्षिक कार्यक्रमलगायतमा सुधारका कुराहरु सम्बन्धित व्यक्तिलाई राखेका थिए ।
स्थानीय पाठ्यक्रमका विषयमा अभिमुखीकरण
सोही कार्यक्रमको पहिलो सत्रमा दमक नगरपालिकाले तयार गर्ने स्थानीय पाठ्यक्रम विषयमा समेत छलफल र सहजीकरण गरिएको थियो । कक्षा १ र २ मा लागेको भएको हाम्रो दमक पुस्तकको समिक्षा र ३ कक्षादेखि ८ कक्षासम्मका लागि पाठ्यक्रम तयारी प्रारम्भिक चरणको छलफल भएको छ । सो पाठ्यक्रमका विषयमा कस्ता कस्ता विषयवस्तु समेट्ने भन्ने सन्दर्भमा छलफल गरिएको थियो । सो कार्यक्रममा अशोक कालाखेती र डिल्लीराम अधिकारीले पाठ्यक्रम लेखनका सैद्धान्तिक आधार सम्बन्धी अभिमुखीकरण दिएका थिए । स्थानीय स्रोत, साधन, उर्जा, उत्पादन, प्रविधि देखि व्यक्ति परिचयको छनौटमा ध्यान दिनुपर्ने सहभागीले औंल्याएका थिए । पाठ्यक्रमसँगै ज्ञान, सीप र रोजगार समेत जोडिनुपर्ने, चेतनाको स्तर बृद्धि गर्नुपर्ने, नैतिक मूल्य र मान्यतामा आधारित विज्ञासँगको सम्बन्धका आधारमा जीवन र विज्ञानलाई सार्थक बनाउने प्रकृतिको पाठ्यक्रम, अभ्यास, मूल्यांकन रहनुपर्ने सहभागीले औंल्याएका छन् ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार स्थानीय तहलाई कक्षा १ देखि ८ सम्म मातृभाषा वा स्थानीय विषय समावेश गरी पाठ्यक्रम लागू गर्ने अधिकार दिएसँगै नगरपालिकाले सोही अनुरूप पाठ्यक्रम निर्माण केही सम्पन्न केही प्रारम्भिक चरणमा रहेको बताएको छ ।

Author

You may also like