दमक/ झापा र मोरङका शिविरमा बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुले सम्मानजनक स्वदेश फिर्तीको पहल गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । उनीहरुले हालै निर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहालाई बधाई दिँदै दीर्घकालीन समाधानका लागिस्वेच्छिक तथा सम्मानजनक स्वदेश फिर्तीलाई प्राथमिकतामा राख्न लिखित निवेदन पेश गरेका हुन् ।
भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीवी सुव्वा र राष्ट्रिय मेलमिलाप समिति भुटानका संयोजक कृष्णवीर तामाङ्द्वारा प्रेशीत पत्रमा १ लाख १३ हजार पाँच सय शरणार्थी विभिन्न मुलुकमा पुनस्र्थापित भएको र शिविरमा अझै ६ हजार ५ सय शरणार्थी विभिन्न समस्यासँग जुध्दै संघर्ष गरि रहेको उल्लेख छ ।
निवेदनमा विगत ३३ वर्षदेखि भूटान सरकारको दमनका कारण विस्थापित भई नेपालमा शरण लिइरहेका नागरिकलाई नेपाल सरकारले आश्रय, सुरक्षा, खाद्यान्न, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ । तर, नेपाल–भूटानबीच विभिन्न चरणमा भएका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि समस्या जटिल बन्दै गएको उनीहरुको भनाइ छ ।
शरणार्थीहरुले तेस्रो देश पुनर्वास कार्यक्रममार्फत ठूलो संख्यामा विभिन्न मुलुकमा पुनर्वास भए पनि स्वदेश फर्किन चाहनेहरुको माग उपेक्षित भएको गुनासो गरेका छन् । त्यसैले संयुक्त राष्ट्रसंघीय निकायहरूको समन्वयमा भूटान सरकारसँग पुनः वार्ता गरी स्वदेश फिर्तीको वातावरण बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ । साथै, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय तथा सम्बन्धित निकायमार्फत कूटनीतिक र प्रशासनिक तहमा पहल तीव्र बनाउन पनि माग गरिएको छ ।
भूटानी शरणार्थीहरुले आफूहरुको अधिकार सुनिश्चित गर्दै सम्मानजनक रूपमा स्वदेश फर्किन पाउने व्यवस्था मिलाउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।