दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । देशको समकालीन राजनीतिक परिवेश, विशेषगरी जेन–जी आन्दोलनपछि उत्पन्न भएको युवाको विद्रोह, जनआक्रोश र परिवर्तनको आकांक्षासँग जोडेर विभिन्न क्षेत्रका नागरिकहरूले शुक्रबार बनेको सरकारप्रति उच्च अपेक्षा राखेको बताएका छन् । भदौ २३ र २४ गतेको आन्दोलनले पुराना दलहरूप्रति गहिरो असन्तुष्टि, राज्यप्रति अविश्वास र अवसरविहीनताको पीडा उजागर गरेको थियो । युवाहरूले रोजगारी, सुशासन, पारदर्शिता र अवसरको समान पहुँचको माग गर्दै सडकमा उत्रिएका थिए । त्यही परिवेशमा उदाएका वालेन्द्र शाहलाई धेरै युवाले वैकल्पिक नेतृत्वका रूपमा हेरेका छन् । सुशिला कार्की नेतृत्वको सरकार गठन अगाडि नै प्रधानमन्त्रीको रुपमा युवाको रोजाईमा परेका शाहले अल्पकालिन भन्दा दिर्घकालिन प्रधानमन्त्री रोज्न पुगे । सोही रोजाई अनुसार शुक्रबार राजकीय परम्परा अनुसार नै उनले प्रधानमन्त्रीको शपथ तथा पदभार ग्रहण गरेका छन् ।
दमक–६ मा सञ्चालित अनिस खाजाघरका सञ्चालक लेखनाथ प्रधानले युवाको निराशा र आक्रोशलाई सम्बोधन गर्ने जिम्मेवारी अब वालेन्द्र शाहको काँधमा आएको बताए । “हामीले देख्यौं, युवाहरू किन सडकमा उत्रिए—रोजगारी छैन, व्यवसाय गर्न वातावरण छैन, राज्यप्रति भरोसा छैन । वालेन जस्तो युवामैत्री नेता आएको बेला साना व्यवसायीलाई सहज कर प्रणाली, ऋणमा पहुँच र स्थिर नीति चाहिन्छ । उनले पाँच वर्षको अवधिमा संरचनात्मक सुधार भयो भने मात्रै युवाले फेरी आउँदो निर्वाचनमा विश्वास गर्ने आधार बन्छ ।
मार्वल्स इम्प्लाइमेन्टको व्यवस्थापक गंगा निरौलाले पनि बालेन्द्र शाह प्रधानमन्त्री भएकोमा खुशी व्यक्त गरे । उनले प्रतिनिधिले जेन–जी आन्दोलनका क्रममा देखिएको सुरक्षा संयन्त्रको कमजोरी र समन्वय अभावलाई स्मरण गर्दै प्रधानमन्त्री शाहको नेतृत्वमा सुशासन र कडा कार्यान्वयनको अपेक्षा गरे । “आन्दोलनले देखायो कि राज्यको सुरक्षा संरचना कति कमजोर रहेछ । अब नयाँ नेतृत्वले कानूनको शासन स्थापित गर्नुपर्छ । शहरी व्यवस्थापन, भीड नियन्त्रण, र सार्वजनिक सुरक्षामा स्पष्ट नीति चाहिन्छ । वालेन्द्र शाह युवामाझ लोकप्रिय छन, त्यसैले उनले अनुशासन र स्वतन्त्रता दुवै सन्तुलनमा राख्न सक्नुपर्छ,” उनले बताए । उनले परिवर्तनको पक्षमा आएको मतको उभारबाट बालेन्द्र शाहको प्रधानमन्त्री भएको हेर्ने अभिलाषा थियो । त्यो अपेक्षा, आकांक्षा अनुरुप जनताले जहेर गरेको मतको मान र सम्मानका लागि प्रधानमन्त्री शाह उपर्युक्त व्यक्ति हुन भन्ने आम युवाको रोजाई पनि हो । उनले वैदेशिक रोजगार व्यवसायमा आवद्ध रहेकोले अबका दिनमा सकेसम्म युवालाई विदेश जानुपर्ने बाध्यताबाट मुक्ति मिलोस् । त्यो गर्न सकिएन भने वैदेशिक रोजगारी व्यवसायलाई व्यवस्थित र मर्यादत बनाउन आवश्यक नीति निर्माण गर्न पनि उनले माग गरे ।
उर्लाबारी ८ निवासी जितबहादुर दाहालले पनि युवाको विद्रोहबाट बालेन्द्र शाह प्रधानमन्त्रीको बनेकोमा खुशी व्यक्त गर्दै भने– अब भने देशमा आमूल परिवर्तनको ढोका खुलेको छ । सामान्य मानिसमाथि राज्य अहिलेसम्म गरेको दमन अब उल्टिने आशा पनि उनले व्यक्त गरे । युवालाई रोजगारी, सुसासन, भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै आम पेशाकर्मीलाई एउटा प्रणाालीमार्फत सेवा दिने आधार तयार भयो भने त्यसले नेपालको ठूलो प्रगति देखाउने पक्का छ ।
व्यवसायी तथा दमकका स्थानीयबासी जितबहादुर दाहालले जनतामा बढ्दै गएको निराशा र पुराना दलप्रतिको असन्तुष्टि नै जेन–जी आन्दोलनको कारण भएको बताए । “हामीले धेरै सरकार देख्यौं, तर काम देखेनौं । भ्रष्टाचार, ढिलासुस्ती र बेथिति मात्रै बढ्यो । अहिले प्रधानमन्त्री वालेनलाई आशाको रूपमा हेरिएको छ । उनले आधारभूत सेवा—सडक, पानी, सरसफाइ, स्वास्थ्य—यिनैबाट परिवर्तन देखाउनुपर्छ । जनता ठूला भाषण होइन, व्यवहारिक काम चाहन्छन्,” उनले भने ।
यातायात व्यवसायी पुष्पलाल दाहालले आन्दोलनका क्रममा देखिएको अव्यवस्थित शहरी संरचना र यातायात समस्यालाई सुधार्ने अवसरका रूपमा नयाँ नेतृत्वलाई लिनुपर्ने बताए । ‘ट्राफिक, सार्वजनिक यातायात र व्यवस्थापनको अवस्था नै आन्दोलनका बेला झन् बिग्रियो । प्रविधिमा आधारित व्यवस्थापन, स्पष्ट नीति र व्यवसायीमैत्री वातावरण बनाउनुपर्छ । उनले अनावश्यक र आधारहिन लगाइएका करहरुलाई एकत्रित गर्दै सुधार ल्याउनुपर्ने आवश्यकता रहेको पनि औंल्याए ।
समग्रमा, वालेन्द्र शाहको प्रधानमन्त्रीको शपथसँगै युवाको विद्रोहबाट जन्मिएको अपेक्षा, पुराना दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक संस्कारको खोजी एकै ठाउँमा केन्द्रित भएको देखिन्छ । जनताले अब भाषणभन्दा परिणाम, वाचा भन्दा कार्यान्वयन र अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन सुधार चाहेका छन् । वालेन्द्र शाह साँच्चिकै परिवर्तनका प्रतीक बन्नेछन् कि त्यो आशा फेरि निराशामा रूपान्तरण हुनेछ भन्ने आगामी सरकारको कार्यक्षमतामा निर्भर रहनेछ ।