देश–समाज समाचार स्थानीय

दूव्र्यसनीमा युवाहरु फस्दै, झापाका सुधार केन्द्रमै आठ सय बढी

दमक/ लागुऔषधको दुव्र्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना) केन्द्रमा रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रहेका विभिन्न २७ वटा पुनःस्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुव्र्यसनबाट मुक्त गराउन पुनःस्थापना केन्द्रमा राखेका हुन् ।
भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय जिल्लामा लागुऔषध दुव्र्यसनको समस्या भयावह रूपमा देखिएको छ । दिनहुँ प्रहरीले सीमानाका, ठूला बजार र ग्रामीण बस्तीबाट युवालाई लागुपदार्थसहित नियन्त्रणमा लिने गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार मेचीनगर र विर्तामोडमा छवटाका दरले पुनःस्थापना केन्द्र सञ्चालनमा छन् भने शिवसताक्षीमा चार, दमकमा तीन, कनकाईमा तीन, अर्जुनधारामा दुई, कमलमा दुई र बुद्धशान्तिमा एउटा पुनःस्थापना केन्द्र रहेका छन् ।
विर्तामोडका पुनःस्थापना केन्द्रमा सबैभन्दा बढी दुई सय २३ जना युवा उपचाररत् छन् । मेचीनगरमा एक सय ७८, शिवसताक्षीमा एक सय पाँच, दमकमा ८९, कनकाईमा ८२, कमलमा ७३, अर्जुनधारामा ५५ र बुद्धशान्तिमा ४० जनाले लागुऔषध दुव्र्यसनको मुक्तिका लागि उपचार गराइरहेका छन् ।
मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक भीमप्रसाद लुइँटेलले केन्द्रमा हाल ३३ जनाको उपचार भइरहेको बताए । समाजले बिग्रियो भनेर बेवास्ता गरेको र परिवारको विश्वास गुमाइसकेको अवस्थामा दुव्र्यसनमा लागेको युवालाई सुधारेर स्वस्थ्य बनाइ परिवार र समाजमा पुनःस्थापना गर्ने कार्य सहज भने नहुने उनले धारणा राखे ।
पुनःस्थापना केन्द्रहरूले तीनमहिने र छमहिने कोर्स पूरा गर्नेगरी दुव्र्यसनमा लागेका युवाहरूको आवासीय सशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् । केन्द्रमा आवासीय उपचार गराउन आउने युवालाई दुव्र्यसन छुटाउन दिनहुँ परामर्श कक्षामा सहभागी गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने र हरेक दिन योग तथा ध्यानसमेत गराउँदै आइएको नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक लुइँटेलले बताए ।
कसरी फस्दैछन् युवा दूव्र्यसनीमा
भारतसंग खुला सिमाका कारण झापाले थुप्रै चुनौतिको सामना गर्दै आएको छ । भारतसंग करिब १४४ किलोमिटरको खुला रहेको झापामा पछिल्ला केहीबर्ष यता लागू औषध दुव्र्यसन, कारोबार, भण्डारण र ओसारपसार मुख्य चुनौतिका रुपमा देखिएको छ ।
भारतको पश्चिम वंगाल र विहार राज्यसंग सिमा जोडिएको झापाले अन्य थुप्रै चुनौतिहरुको सामना गर्दै आएपनि पछिल्लो केही वर्ष यता लागू औषध युवा पुसताका लागि बिकराल बन्दै गएको छ । खुला सिमाका कारण जिल्लामा लागू औषधको सहज प्रवेशलाई थप सहज बनाइदिएको छ । विशेषगरी काँकडभिट्टा, भद्रपुर, कचनकवल, कुमरखोद, गौरीगञ्ज जस्ता नाका र आसपासका क्षेत्रमा भारतबाट लागू औषध सहजै भित्रिने प्रवृत्ति देखिएको छ । यसले गर्दा जिल्लामा लागू औषधजन्य गतिविधि र दुव्र्यसनको समस्या झन जटिल बन्दै गएको छ ।
पछिल्ला महिनाहरूमा जिल्लामा लागू औषधसँग सम्बन्धित घटनाहरू तीव्र रूपमा वृद्धि हुँदै गएका छन् । प्रहरी तथ्यांक अनुसार, प्रयोगकर्ता र खपत दुवैको दर वर्षेनि उकालो लागिरहेको छ । गत आर्थिक वर्षमा प्रहरीले गोली समेत फायर गरी ठूलो मात्रामा लागू औषध बरामद तथा कारोबारी पक्राउ गरेको छ । दुव्र्यसनको शिकार हुनेमा किशोर तथा युवा वर्ग सबैभन्दा बढी छन् । विशेष गरी विद्यालय र कलेज पढ्ने विद्यार्थीहरू जोखिममा रहेको देखिन्छ ।
एक समयमा सम्पन्न परिवारका केही सदस्यहरुले मात्र लागू औषध सेवन गरेको कुरा सुन्न पाइन्थ्यो । तर, आजको दिनमा अवस्था यति भयावह भइसकेको छ कि “एक घर, एक प्रयोगकर्ता” भन्न सकिने स्थिति सिर्जना भएको छ । झनै चिन्ताजनक कुरा के छ भने, अहिले दैनिक ज्याला मजदुरी गर्ने वर्ग समेत लागू औषध दुव्र्यसनको सिकार बन्न थालेका छन् ।
झापा जिल्लामा युवावर्ग सबैभन्दा बढी प्रभावित देखिएको छ । तथ्यांकहरूले स्पष्ट देखाउँछन् कि प्रत्येक वर्ष प्रयोगकर्ताको सख्या र लागू औषधको खपत दुबै उल्लेखनीय रुपमा बढ्दै गइरहेका छन् । यस्तो प्रवृत्तिले हाम्रो समाजमा दीर्घकालीन संकटको संकेत दिन थालेको छ । यदि यो समस्याको समाधानका लागि समयमै सम्बन्धित निकाय, स्थानीय समुदाय, सुरक्षा अङ्ग, विद्यालय तथा अभिभावकहरू सचेत र सक्रिय भएनन् भने निकट भविष्यमा ठूलो संख्यामा युवा जनशक्ति लागू औषध दुव्र्यसनमा फस्नेछ । साथै, सम्भावनायुक्त युवा शक्ति देशमै अवसर नपाएर विदेश पलायन हुने क्रम बढ्नेछ, जसले राष्ट्रलाई आवश्यक उत्पादनशील जनशक्तिको अभावमा पारेको संकट थप गहिरिने सम्भावना रहन्छ ।
यसरी फस्दैछन कुलतमा युवा
लागू औषध सेवनका कारणहरू बहुआयामिक हुन्छन् । जसमा व्यक्तिगत, पारिवारिक, सामाजिक, मनोवैज्ञानिक, र आर्थिक पक्षसँग सम्बन्धित हुन्छन् । लागू औषध दुव्र्यसन केवल व्यक्तिको इच्छा शक्तिको कमजोरी होइन, यो सामाजिक, पारिवारिक, मनोवैज्ञानिक र सांस्कृतिक कारकहरूको जटिल संयोजन पनि हो । अधिकांश अवस्थामा, दुव्र्यसनको सुरुआत जिज्ञासा र प्रयोग गर्ने चाहनाबाट हुन्छ । साथीहरूले सेवन गरेको देख्दा “एकचोटि त टेस्ट गरौं” भन्ने सोच विशेष गरी १६ देखि २५ वर्ष उमेर समूहमा अत्यधिक पाइन्छ, यस्ता व्यक्तिहरू खराब साथीसंगत र सामाजिक दबाबमा परी लागू औषध सेवनतर्फ आकर्षित हुन्छन् जहाँ ‘कूल’ देखिनुपर्ने मानसिकता हावी हुन्छ । पारिवारिक अशान्ति, बाबुआमाको हेलचेक्राई, एकल परिवारको असहजता जस्ता समस्या थपिँदा युवा मार्गभ्रष्ट हुने सम्भावना झनै बढ्छ । पढाइको दबाब, प्रेम विफलता, बाल्यकालको दुव्र्यवहार, चिन्ता, डिप्रेशन जस्ता मानसिक अवस्थाले पनि लागू औषधलाई ‘भावनात्मक भागदौड’को माध्यम बनाउने गर्छ ।
त्यस्तै बेरोजगारी, आर्थिक अभाव र भविष्यप्रति निराशा भएका युवाहरू लागू औषध दुव्र्यसन मात्र होइन, यसको कारोबारमा समेत संलग्न हुने जोखिममा हुन्छन् । खुला सीमा, कमजोर निगरानी, तथा मेडिकल स्टोरबाट लागू औषध सजिलै उपलब्ध हुनुले प्रयोगलाई थप सहज बनाएको छ । थप रूपमा, ड्रग्स सेवनले ‘टेन्सन बिर्सिन्छ’, ‘ऊर्जा आउँछ’, ‘रचनात्मक सोच बढ्छ’ भन्ने नक्कली धारणा सोच विचार पनि फैलिएको पाइन्छ । कतिपय समुदायमा गाँजा, रक्सी, चरेसजस्ता पदार्थलाई सांस्कृतिक रूपमा स्वीकृत मान्ने चलनले पनि दुव्र्यसनलाई प्रश्रय दिएको देखिन्छ ।
लागुऔषधका पछिल्ला तथ्याङ्क हेर्ने हो भने क्रमशः बढ्दै गएको देखिन्छ । पछिल्लो दुई आर्थिक वर्षको तथ्यांक हेर्दा, २०८०÷०८१ मा २९७ वटा कसुर दर्ता भई ४६२ जना पक्राउ परेका थिए भने २०८१÷०८२ मा कसुर दर्ता ३४६ पुग्दा ५५९ जना पक्राउ परेका छन्, जसमा १ जना भारतीय महिला र २७ जना भारतीय पुरुष पनि परेका छन् । ब्राउन सुगर २ केजी ८८२ ग्राम ४४७ मि.ग्रा. र गाँजा १६५१ केजी ७२ ग्राम २७० मि.ग्रा. बरामद गरिएको छ। साथै, ट्रक २ वटा, कार ३ वटा, अटोरिक्सा ३ वटा र मोटरसाइकल ५१ वटा नियन्त्रणमा लिइएका छन्।
२०८१÷०८२ मा जिल्ला प्रहरी कार्यालय झापाले ४४७ वटा लागू औषध विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका १५ स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै मुद्दा दर्ता भएको छ भने भद्रपुर, दमक, विर्तामोड, झापा गाउँपालिका, अर्जुनधारा र शिवसताक्षी पालिकामा पनि यस्ता घटना उल्लेख्य छन् ।
पक्राउ परेका व्यक्तिहरू प्राय १६ देखि ३५ वर्ष उमेर समूहका छन् । बढ्दो खपतका कारण करोडौं रुपैयाँको लागुऔषध कारोबार छिमेकी भारतमा हुने गरेको र झापा यस कारोबारको प्रमुख प्रवेशद्वार तथा वितरण केन्द्र बन्दै गएको छ ।
कारोबारमा फरक फरक तरिका
लागू औषध ओसारपसार गर्न तस्करहरूले साना बालबालिका, महिला तथा दैनिक यात्रीहरू प्रयोग गर्ने गरेका छन् साथै तस्करहरूले लागू औषध मुखमा निलेर, शरीरका गोप्य अङ्गहरूमा लुकाएर वा लगाएको कपडामै सिलाएर तस्करी गर्ने गरेका छन् । सवारी साधनहरू कार, बस, मोटरसाइकल, साइकल, अटो, टेम्पो, ट्रक र मालबाहक गाडीहरूको सिटमुनी, ड्यासबोर्ड, स्पेयर टायर वा अन्य भागहरूमा लुकाएर लागू औषध ल्याउने प्रवृत्ति व्यापक देखिएको छ । त्यति मात्र होइन, खाद्यान्न ल्याउने बाहनामा चामल, चिनी, तरकारीहरू, फोहरमैला टिप्ने झोलाहरू तथा पुनः प्रयोग हुने सामग्रीहरू भित्र पनि लागुऔषध लुकाइएको पाइन्छ । यसले लागू औषध नियन्त्रण कार्यलाई थप चुनौति पूर्ण बनाएको छ ।

Author

You may also like