देश–समाज राजनीति लेख

डा. शेखरको नेतृत्वमा सर्वदलीय सरकारको अपेक्षा

:— यज्ञप्रसाद भट्टराई —:
नेपाली कांग्रेसको सांगठनिक गतिबिधिहरु अहिले देशैभरी मृतप्रायः अवस्थामा रहेको छ । सत्ता र सरकारमा गएका थान दशेक नेताहरु र तिनका वरिपरी रोजिरोटीको जोहो मिलाउन फन्को मारिरहेका घुमन्ते कार्यकर्ताहरु बाहेक अहिले नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरु नत सरकारसँग जोडिन सकेका छन् नत पार्टीसँग जोडिन सकेका छन् । सत्तामा रहेका पार्टीका नेताहरु र मन्त्री पदमा आसिन भएका ब्यक्तिहरु समेत बिभिन्न किसिमका काण्डहरुमा मुछिए पछि अहिले कांग्रेसका कार्यकताहरु आफ्नैै पार्टीका नेता र मन्त्री भेटन समेत डराउन थालेका देखिन्छन् । कार्यकर्ताहरुको अथक परिश्रम र बर्षौबर्षको लगानीमा बर्तमानका कांग्रेस नेतृत्वले बदनामीको कालो दाग दलिदिए पछि कार्यकर्ताहरुको भावनामा अत्यन्तै धेरै ठेस लागेको अवस्था छ ।
एउटा प्रजातान्त्रिक पार्टीमा गुट, उपगुट तथा बैचारिक समूहहरु रहनु कुनै नौलो कुरा होईन । यो नेपाली कांग्रेसमा स्थापनाकाल देखिनै रहदै आएको बिषय हो । बिगतमा बिभिन्न गुट उपगुटमा बिभक्त भएको नेपाली कांग्रेसमा अहिले स्पष्ट रुपमा दुई धार देखिएको छ । भन्दा संस्थापन र ईतर पक्ष भनिए पनि अहिले नेपाली कांग्रेस भित्र यथास्थितिबादी समूह र रुपान्तरण सहितको परिवर्तनकारी समूहमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु बिभाजित भएका छन् । बिगतमा नेपाली कांग्रेसमा उदाएका आशालाग्दा युवा नेताहरु पनि महाधिबेशनको मुखमा पुगेपछि संस्थापन पक्षमै समाहित भए पछि पार्टीको चौधौं महाधिबेशनमा सभापति शेरबहादुर देउवालाई सभापति जित्न सहज भएको थियो । पार्टि भित्रकै यति ठूलो एलायन्स हुँदा पनि डा. शेखर कोईरालाले झण्डै ४१ प्रतिशत मत ल्याउन सक्नु आफैमा गौरवको बिषय थियो ।
बिगतमा गिरिजाबाबुसँग सभापतिमा लडेर पराजित भएपछि शेरबहादुर देउवाले जसरी पार्टीभित्र भागबण्डाको घृणित अभ्यास र परम्पराको शुरुवात गराएका थिए त्यसलाई शेखर कोईरालाले पनि निरन्तरता दिन सक्थे तर दिएनन् । भागबण्डाले सिंगो पार्टीलाई धरासायी बनाउने बुझेका कोईरालाले पार्टीमा भागबण्डाको गलत अभ्यासलाई रोक्ने मात्रै काम गरेनन, सरकार सञ्चालनमा पनि कुनै दखल दिएनन् । कार्यकर्ताहरुको मलिन अनुहारमा हाँसो ल्याउन आफैले गाली सहेर भएपनि पार्टी भित्र थिति र बिधि स्थापनाका लागि आफुले सक्ने जति प्रयत्न गरिरहे । जनताका घर आँगनमा पुगेर जनताका सुखदुःखमा सहभागि बनिरहे । उनले नेपाली जनतामा आँखामा देखिएको निराशाको खाडल पुर्दै आशाको दीयो अझै पनि बालिरहेका छन् । त्यसैले नेपाली जनताले डा. शेखर कोईरालाको नेतृत्वमा देशले एकपटक नयाँ परिवर्तनको पालुवा पलाउने आशा साँची रहेका छन् ।
अहिले देश र कांग्रेस दुबै संकटमा परिरहेको अवस्था छ । नेपाली कांग्रेसलाई एमालेकरण हुनबाट बचाउन नेपाली कांग्रेसको नेतृत्वले तत्काल ठोस निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ । यस्तो अवस्थामा देश र कांग्रेस दुबैलाई जोगाउन आवश्यक छ । यस्तो अवस्थामा कानमा तेल हालेर कुम्भकर्ण झै घाममा क्विन्टलको शरिर सुकाउदै खोपीभित्र सरकारमा जाने दिनगन्तिको रटानमा बस्नु मात्रै कुनै पनि अशल नेतृत्वको जिम्मेबारी भित्र पर्दैन । यसका लागि पार्टी र सरकार दुबैलाई चलायमान गराउन पार्टीको उपल्लो नेतृत्व तहले अहम भूमिका खेल्नु पर्छ ।
नेतृत्वको गलत कदमको परिणाम तल्लो तहका कार्यकर्ता सम्मले झेल्नुपर्छ । पार्टीको नेतृत्व तहले बदनाम ब्यक्ति बचाउ अभियानमा लागेपछि सिंगो पार्टी जनताका नजरमा गिर्छ । यसले पार्टीलाई लामो समयसम्म पिर्छ । यस बिषयमा डा. शेखर कोईरालाले बिभिन्न मञ्चहरुमा बोलिरहेका छन् । पार्टी र सरकारलाई जिम्मेबार बन्न, भ्रष्टाचार रोक्न, शुसासन कायम गर्न र भ्रष्टाचारीलाई हदैसम्मको कार्वाही गर्न अनुरोध गरिरहेका छन् ।
बिगत लामो समयदेखि सरकारका गलत रबैया र पार्टी भित्रका बेथिति बिरुद्ध खरो प्रतिकारमा उत्रिएका डा. शेखर कोईरालाले सरकारका एक पछिका अर्का गलत कार्यका बिरुद्धमा अहिले आएर राजनीतिक सकृयता बढाएका हुन । पार्टी भित्रको अन्तरसंघर्षले ले सवल र सक्षम नेतृत्व स्थापित गराउन सहयोग पुर्याउँछ भने सरकारका गलत कामको उजागरले सरकारलाई सहि मार्गमा हिडन सहयोग पुर्याउँछ तर यि दुबै कुरा यहि अवस्थामा र यहि सरकारबाट हुन सक्ने अवस्था नदेखेपछि डा. शेखर कोईरालाले बृहत्तर राजनीतिक छलफलमा अगाडि बढेका देखिन्छन् ।
अहिले देशमा बिबादित प्रधानमन्त्री र दुर्गन्धित मन्त्रीहरुको दवदवा छ । सरकारमा रहेका अधिकांश मन्त्रीहरु कुनै न कुनै भ्रष्टाचार र अनियमितताको काण्डमा मुछिएका देखिन्छन् । सामाजिक सञ्जालदेखि छापा समाचारसम्म सरकारमा रहेका मन्त्रीहरुको, मन्त्रीले नियुक्ति गरेका कर्मचारीहरुको भ्रष्टाचार र अनियमितताका समाचार नआएको दिन हुँदैन । करोडौं भ्रष्टाचारका बिषयमा कुरा उठिसक्दा पनि बहालवाला मन्त्रीलाई क्लेशसम्म पनि लाज शरम र घिन हुदैन । मानव तस्करी र घुषखोरीको यति तल्लो तहसम्मको समाचारहरु यस अघि कहिल्यै पनि आम नागरिकसम्म आएको थिएन । पार्टी र सरकारमा रहेर देश र पार्टीको हितमा काम गर्नेहरु नै यति तल्लो तहसम्मको सामाजिक बहिस्करणको अवस्थासम्म आईपुग्दा पनि सरकारमा रहेका तथा पार्टी सञ्चालनमा रहेका नेताहरुलाई बाह्र हातको टाँगोले पनि छुदैन भने आम नेपाली जनताले बुभ्mनुपर्छ अब यस्ता नेतृत्वबाट देश बिकासको काम पनि हुदैन ।
अहिलेको डा. शेखर कोईरालालको बढदो राजनीतिक सकृयताले सिंगो नेपाली कांग्रेसमा सकारात्मक परिवर्तन र बृहद् एकताको आशा पलाएको छ भने देशमा डा. शेखर कोईरालाको नेतृत्वमा सहमतीय राष्ट्रिय सरकार बन्ने वाताबरण समेत बन्दै गैरहेको देखिन्छ । अहिले देशले पनि निश्कलंक र निर्बिवाद नेतृत्वको खोजि गरिरहेको छ । पटक पटक सत्तामा रहेर बदनामको भारी बोकिसकेका ब्यक्तिहरुलाई अब बिश्राम दिनु पर्ने बेला आईसकेको छ । यसका लागि देश भित्र निश्कलंक र सादगी नेताको छबि बनाएका साथै विश्व राजनीतिमा समाजबादी चिन्तकको उपल्लो दर्जामा उक्लिई सकेका डा. शेखर कोईरालालाई देशको नेतृत्व गर्ने बाताबरण बनाउन जरुरी छ ।
देशमा परिवर्तिक राजनीतिक घटनाक्रमहरुले समेत यहि कुराको शंकेत गरिरहेको देखिन्छ । डा. शेखर कोईरालाको नेतृत्वमा सर्वदीय सहमतीय सरकार गठन गर्न सके देशमा भ्रष्टाचारको अन्त्य गर्दै देशलाई शुसासनको बाटोमा हिडाउन सकिन्छ भन्ने आम नागरिकको आवाज रहेको बुझिएको छ ।

Author

You may also like