देश–समाज समाचार स्थानीय स्वास्थ्य

झापामा १२ जनालाई कोरोना पुष्टि भोलिदेखि खोप लगाईने

दमक/नयाँ भेरिएन्ट फैलिएयता झापामा कोरोना संक्रमणबाट १२ जना संक्रमित भएका छन् । त्यसमध्ये ४ जना बिर्तामोडका रहेका छन् । हालसम्म ६ महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिर्तामोडका ४, मेचीनगर, कन्काई, शिवसताक्षी, भद्रपुर, बुद्धशान्ति, दोलखा र इलामका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । पहिलो पटक गत जेठ ११ गते बिर्तामोड ५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट फैलिएयता कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ ।
नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको हो । पछिल्लो समयमा नेपालमा कोरोनाको संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाका २४९ जनामा कोरोना संक्रमण देखा परेको छ । गएको एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबीच झापामा यही असार २२ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । असार २२ देखि ३१ गतेसम्म जिल्लाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । उनले फाइजर खोप लगाइने जानकारी दिए ।

Author

You may also like