दमक । कम्युनिष्ट सिद्धान्तमा समर्पित भई निरन्तर राजनीति तथा सामाजिक क्षेत्रमा क्रियाशिल इन्द्र बहादुर बुढाथोकीको यही जेठ ३ गते निधन भएको छ ।
उहाँको पार्थीव शरिरलाई दमक नगरपालिकामा केही समय राखेर श्रद्धाञ्जली अर्पण पछि कन्काई माइमा दाहसंस्कार गरिएको थियो । श्रद्धाञ्जलीका क्रममा दमक नपाका नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईलगायत कर्मचारी, जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्व र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
वर्ष लामो मृत्युसँग कठिन संघर्ष गर्दै पटक पटकको हर्टअट्याक, २ महिनासम्मको आईसियु बसाईलाई पार गरेर केही महिना घरमा आरामपछि उनको निधन भएको हो ।
२००९ सालमा तेह्रथुम जिल्लाको विकट गाउँ साविक ओख्रेमा जन्मिएका बुढाथोकी २०४६ सालको राजनीतिक परिवर्तन पछि दमक न.पा.को पहिलो मेयर बनेका हुन । पार्टीको जिम्मेवारीसँगै विभिन्न ंघसंस्थाहरुमार्फत् सेवा गर्दै रहे । दमकमा भएको मदन भण्डारी स्मृति प्रतिष्ठानको संस्थापक कोषाध्यक्ष, सचिव, दमक बहुमुखी क्याम्पसको तीन कार्यकाल अध्यक्ष, सल्लाहकार संयोजक रहे । पब्लिक क्याम्पसको केन्द्रीय सदस्य, खप्तडी बुढाथोकी सेवा समाजको पूर्वाञ्चल अध्यक्ष, केन्द्रको सल्लाहकार सदस्य, नेपाल रेडक्रस सोसाईटी, हिमालय माध्यमिक विद्यालयको व्यवस्थापन समितिलगायत धेरै संस्थामा बसेर काम गरेका हुन् ।
उनको इमान्दारिता, भद्र र मिलनसार स्वभावकै कारणले मेयर पदको ५ वर्षे कार्यकाल अल्पमतमा रहेपनि विना विवाद, विना आक्षेप सफलतापूर्वक सम्पन्न भएको उनी निकट समकर्मीहरु बताउँछन् ।
कम्युनिष्ट सिद्धान्तमार्फत समाज परिवर्तन गर्दै देशको सेवा गर्न ५ दशक लामो यात्रा तय गरिरहँदा आफ्नो मूलपाटी नेकपा एमालेबाट भने अलग भईसकेका छन् । कम्युनिष्ट पार्टीमा आएको विकृतिबाट असन्तुष्ट बनेका बुढाथोकीले केही समय अगाडि पूर्वसन्देशसँगको कुराकानीमा विचार नछोडेपनि कुनै पार्टीको जिम्मेवारीमा भने नरहेको बताएका थिए । अन्तमा एउटा इमान्दार, सच्चा सामाजिक व्यक्तित्व, असल मित्र बुढाथोकीको निधनप्रति दूःख व्यक्त गर्दै यस मिडिया हाउसका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।