देश–समाज पर्यटन समाचार स्थानीय

कोशीमा पर्यटनः सम्भावना छ, सदुपयोग छैन

— : विमल लामिछाने : —


दमक/ अथाह सम्भावना भएर पनि कोशी प्रदेशले पर्यटनलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाउन सकेको छैन । प्रदेशमा पर्यटनमा भएको लगानी अनुरूप प्रतिफल प्राप्त हुन सकेको देखिँदैन । कोशी प्रदेश अन्य प्रदेशको तुलनामा पर्यटनमा अबल मानिएको प्रदेश हो । यहाँ अधिक सम्भावना रहेको छ । प्राकृतिक स्रोत साधनका हिसाबले सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो स्थान झापाको कचनकवल पनि यही प्रदेशमा पर्दछ ।
यो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर विभिन्न कार्यक्रम गरिरहेको छ । सरकार, निजी क्षेत्र र नागरिकको संयुक्त पहलमा प्रारम्भ गरिएको पर्यटन वर्षले आगामी दिनमा प्रदेशमा पर्यटनमार्फत समृद्धि ल्याउने सरकारले योजना अघि बढाएकोे बुझ्न सकिन्छ । नेपालको पर्यटन ‘नेचर’, ‘कल्चर’ र ‘एड्भेन्चर’ मा आधारित छ । कोशीमा पर्यटनका यी तिनै आयामको प्रचुरता हुँदाहुँदै पनि समुचित उपयोग हुन सकेको छैन । आठ हजार मिटरमाथिका पाँच वटा हिमाल कोशी प्रदेशमै छन् । कोशीले यसबाट पर्यटकीय प्रतिफल लिन सकिरहेको छैन । जल सम्पदाको ठुलो भण्डार कोशीमै छ तर जलबाट विद्युत् उत्पादनमा मात्र होइन, पर्यटकीय उपयोगमा पनि प्रदेश पछाडि नै छ । प्रदेशमा भएका वन जङ्गललाई पनि कोशीले पर्यटकीय उत्पादनका रूपमा प्रयोग गर्न सकेको छैन । धार्मिक हिसाबले कोशी प्रदेशमा पाथीभरा, उत्तर–पश्चिममा रहेको हलेंसी महादेव र चुरे–तराइ क्षेत्रमा रहेको बराहक्षेत्र, पिण्डेश्वरीलगायतका हिन्दु धर्मावलम्बीको तीर्थस्थल छन् भने मनोरञ्जन र ऐतिहासिक महत्वका हिसावले पनि कोशी प्रदेशका हरेक जिल्ला चर्चामा रहेका छन् ।
मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको यस प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलांचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगवनी तथा भण्टाबारी नाका चर्चित नाका हुन् । उत्तरका नाका चालू अवस्थामा नभए पनि दक्षिणका नाका अहिले चालू छन् ।
कोशी प्रदेशमा पर्ने झापा जिल्लको पर्यटकीय स्थलहरुमा कचनकवल, नेपालको सबैभन्दा होचो ठाउँ हो । यो समुद्री सतहबाट ५८ मी. उचाइमा रहेको छ । अर्जुनधारा, कचनकवल, सतासीधाम कीचकबध, विराटपोखर, कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढ, कृष्ण थुम्कि, जामुनखाडी सिमसार क्षेत्र आदि झापाका मुख्य पर्यटकीय क्षेत्र हुन् ।
मोरङ जिल्लामा विराट राजाको दरवार, धनपाल गढी , राजारानी पोखरी, राजा धनपाल थान, सुनबर्षी पोखरी, बेतेनी ताल तथा मुख्य पर्यटकीय क्षेत्र बेतौना सिमसार क्षेत्र आदि रहेको छ ।
यसैगरी सुनसरी जिल्लामा एभरेष्ट विज्ञान केन्द्र, कोशी टप्पु वन्यजन्तु आरक्ष, चतराधाम, चिमडी दह, ठिंगेढुंगा, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिररु, बुढासुब्बा मन्दिर, भेडेटार, रामधुनी मन्दिर, वराहक्षेत्र, विष्णुपादुका मन्दिर, तालतलैया लगायत पर्यटकीय स्थलहरु रहेका छन् । सूर्योदयको जिल्ला भनेर चिनिने इलाम जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा अन्तुडाडा, श्रीअन्तु पाथीभरा, कन्याम, फाकफोकथुमको ज्ञानदिललदास गुफा, जोरधारा देवीथान, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारूम्वा किरात धर्मगुरु आश्रम, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् ।
पाँचथर जिल्लामा अवस्थित जोरपोखरी, सिलौती, ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबार, सुम्हात्लुङ देवस्थल, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, सिंह सिद्ध तीर्थस्थल, स्वर्गपुरी मन्दिर, लब्रेकुटी, छालासुकुवा, गुरुङ संग्राहलय रहेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वी नेपालकै प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, विश्वकै तेस्रो र नेपालकै दोस्रो ८,५८६ मिटर अग्लो कंचनजंघा हिमश्रृंखला क्षेत्र, तिम्बुङपोखरी, फुङफुङे झरना, मिल्के जलजले क्षेत्रलगायत रहेका छन् ।
धनकुटा जिल्लामा पर्यटकीय सम्भावना बोका अजङ्गको रुख, चतुरवाहु विष्णु मन्दिर, जाल्पादेवी मन्दिर, ध्वजे डाँडा, नागेश्वर महादेव मन्दिर, निशान भगवती मन्दिर , पञ्चकन्या सहिदस्मृति पार्क, पाथीभरा देवी मन्दिररु, भेडेटार, मार्गाथान, मधुगंगा महादेवस्थान, राजारानी ड्डविश्रान्ति मन्दिर, हिले बजार आदि पर्यटकीय तथा भार्मिक स्थलहरु रहेका छन् ।
भोजपुरलाई यहाँको संस्कृतिमा किराँत बाहुल्य भएको जिल्ला भनेर चिनिन्छ । ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, षडानन्दको जन्मभूमी दिङ्ला, सिद्धकाली मन्दिर, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागढी आदि पनि पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।
यस्तै संखुवासभा जिल्लामा मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, मिल्के डाडाँ आदि पर्यटकीय संम्भावना बोकेका क्षेत्र रहेका छन् ।
सोलुखुम्बुमा पर्यटकीय क्षेत्रहरु सगरमाथा, ल्होत्से, चोयु, ग्याचुङगाङ, नुप्त्से, चोमोलुङमा, पुमोरी, आमाडव्लम, थाम्सेर्कु, नुम्बुर, ल्होत्सेसार, पासाङल्हामु, खुम्बु तथा वरिपरिका उच्च उपत्यकाहरू सोलुखुम्बुको मात्र नभएर संसारकै प्रमुख पर्यटकीय स्थलहरू रहेका छन् ।
खोटाङ जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी, हलेसी महादेवस्थान, ट्याम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्दछन । उदयपुरमा मुख्य पर्यटकीय क्षेत्रहरू जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्षलगायत रहेका छन् ।
कोशी प्रदेशमा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन् । त्यसमध्ये पनि ५ वटा त कोशी प्रदेशमा छन् ।

Author

You may also like