दमक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६ महिनापछि पार्टीको नियमित काममा फर्किएका छन् । सोमबारबाट सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका सभापति लामिछानेले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै संघीय लोकतन्त्र र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न नछाड्ने बताएका हुन् । उनले देशमा गणतन्त्रका नाममा भइरहेको लुटतन्त्रलाई टुलुटुलु हेरेर नबस्ने पनि बताए ।
सरकारले आफूलाई दुःख दिइरहेको भन्दै शरीरमा एक थोपा रगत रहेसम्म लुटतन्त्रको विरुद्धमा उभिने बताए । ‘दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ, यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु। जतिवटा मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार। म राजनीतिमा नआएको भए यो दुःख खेप्नुपर्ने थिएन भन्ने मलाई थाहा छ । संघीय लोकतन्त्रको र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पछि हट्दैन,’ उनले भने ।
उनले थपे, ‘म लड्छु। जुनसुकै शक्तिसँग लड्छु । तर यो लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे म होइन ।’ यतिबेला देश प्रतिपक्षविहीन भएको उनको भनाइ थियो। आफूहरूलाई गणतन्त्रवादी होइनन् कि भनेर हिलो छ्याप्ने प्रयास भइरहेको उनले बताए । उनले भने, ‘हामी गणतन्त्रवादीको कित्तामा छैनौँ कि, गणतन्त्रवादी होइनौँ कि भनेर हिलो छ्याप्ने प्रयास भएको छ। म भन्न चाहन्छु, जहाँ तपाईं उभिनुभएको छ, त्यो गणतन्त्र होइन। तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको थियो । रास्वपा खोल ओढ्दैन।’
उनी आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका हुन् । उनी आजबाट सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । बैठकमा सहभागी हुने भएपछि रास्वपा पार्टी कार्यालयमा उनको स्वागतका लागि कार्यकर्ताको भीड लागेको थियो । लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले उपसभापति डिपी अर्याललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको थियो ।