देश–समाज समाचार स्थानीय

दमकमा सन्ध्याकालीन सस्तो बजारको शुभारम्भ

झापाको दमक नगरपालिकामा सन्ध्याकालीन सस्तो बजारको औपचारिक शुभारम्भ गरिएको छ। दमक ६ र ७ नम्बर वडाको सीमामा पर्ने हनुमान मन्दिर सडक क्षेत्रमा सञ्चालन गरिएको यो बजारले स्थानीय व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

दमक ७ का वडाध्यक्ष भीम प्रसाद पौडेलले उक्त सन्ध्याकालीन बजारको उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि रहेका पौडेलले दमकमा सुस्ताएको बजार गतिविधिलाई पुनः सक्रिय बनाउन यो बजार उपयोगी हुने बताए। साथै, सुरक्षा व्यवस्थाका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय गरिने आश्वासन दिए।

दमक ६ का वडाध्यक्ष टेक बहादुर थापाले यस्तो प्रकारको बजारलाई नगरका अन्य भागहरूमा समेत विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गरे। उनले दमकलाई उज्यालो वडा बनाउने लक्ष्यसहित सडक बत्तीको व्यवस्था सुधार गर्दै आवश्यक पूर्वाधार विकास गरिने बताए।

दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र ढकालका अनुसार सन्ध्याकालीन बजारको स्थापनाले व्यापारलाई थप चलायमान बनाउनेछ। उनले स्थानीय सरकार र सुरक्षाकर्मीलाई आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरे।

व्यवसायी भरत चौलागाईंले यस बजारले व्यापारी र उपभोक्ताबीचको सम्बन्धलाई मजबुत बनाउने बताए। बजारको किनार झिलीमिली पारिएको छ भने जुत्ता-चप्पल, फेन्सी कपडा, खेलौना, किचन सामग्री तथा दैनिक उपभोग्य सामानहरू बिक्रीमा राखिएको छ।

बजार हरेक दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। होलसेल व्यवसायी संघ दमकका अध्यक्ष राम रिमालका अनुसार बजारलाई थप व्यवस्थित बनाउँदै उपभोक्ताको आवश्यकताअनुसार नयाँ स्टलहरू थप्ने योजना बनाइएको छ। उद्घाटन समारोहको अध्यक्षता स्थानीय व्यवसायी कृष्ण ओलीले गरेका थिए।

स्थानीय व्यापारी, नगरपालिकाका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा उद्घाटन गरिएको सन्ध्याकालीन सस्तो बजारले दमकको आर्थिक गतिविधिलाई गतिशील बनाउने अपेक्षा गरिएको छ।

Author

You may also like