देश–समाज मुख्य राजनीति समाचार

नयाँ मोर्चाबन्दीमा राजावादीहरु, दलको चाहनाका चन्द र गुरुङलाई पछि पार्दै सुवेदीले मोर्चा सम्हाल्ने

दमक/ प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई भरपुर सदुपयोग गर्ने गरी राजावादीहरु अगाडि बढिरहेका छन् । यसअघिको पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा देखिएको भिडबाट अझ उत्साहित बनेका राजावादीहरु यतिखेर मोर्चाबन्दीसम्म पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले आह्वान गरेअनुसार राजसंस्था पुनस्र्थापनाको आन्दोलनका लागि राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीको तयारीमा जुटेका छन् । पूर्वराजा शाहको इच्छाअनुसार ८६ वर्षीय उनले राजावादी आन्दोलनको मोर्चा सम्हाल्नेछन् ।
सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवलशमशेर राणा, पूर्वमन्त्री केशरबहादुर विष्ट, राजावादी अभियानका दुर्गा प्रसाईंलगायतसँग भेटेर छलफल गरिसकेका छन् । ०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले पूर्वराजा शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको नेताहरूको भनाइ छ ।
राप्रपा र राप्रपा नेपालका नेताहरूले पूर्वराजाको छनोटमा सार्वजनिक रूपमा आलोचना नगरे पनि सुवेदीको नेतृत्वमा आन्दोलन निष्कर्षमा पुग्न नसकिने आन्तरिक निष्कर्ष छ । यसबारेमा राप्रपाको आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुनेछ । ‘उमेरले ८६ वर्षमा हिँडिरहनुभएका नेता सुवेदी हाम्रा लागि आदरणीय हुनुहुन्छ । तर उहाँले आन्दोलन हाँक्न सक्नुहुन्न,’
नयाँ…राप्रपाका एक नेताले भने, ‘सुवेदीलाई नयाँ पुस्ताले चिन्दैन । यो त तुलसी गिरीको नयाँ अवतार हो ।’
राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मोर्चाबन्दीको इच्छा गरेको थियो भने राप्रपा नेपालले संस्कृतिविद् डा. जगमान गुुरुङको नेतृत्वमा सबै राजावादी अटाउने मोर्चाबन्दी गर्न चाहेको थियो । ‘सुवेदीजीको उमेरका कारण आन्दोलन अघि बढ्न सक्दैन, हामी निरास छौँ,’ राप्रपाका अर्का नेताले टिप्पणी गरे । यद्यपि, उनको बचाउ गरेका अर्का नेताले भने सबै राजावादीहरूको साझा नेतृत्व सुवेदीबाहेक कोही पनि फेला नपरेको टिप्पणी गरे । ‘राजेन्द्र लिङ्देन, कमल थापा, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा कसैको नेतृत्वमा कोही तयार नहुने, दुर्गा प्रसाईंदेखि केशरबहादुर विष्टसम्म अटाउने नेतृत्व सुवेदीको मात्रै हुने भयो । त्यसकारण उहाँलाई मान्न बाध्य भयौँ,’ ती नेताले भने ।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी दस मिनेटको भिडियो सन्देशमा देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । उनले ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ साथ दिन आह्वान गरेअनुसार आन्दोलन गर्ने राजावादीहरूको तयारी छ । उनीहरू २५ फागुनमा पूर्वराजा शाहको काठमाडौंमा स्वागतमा उत्रेको ठुलो जनसमूह देखेर हौसिएका छन् ।

Author

You may also like