देश–समाज सम्पादकीय

रैथाने कृषि उत्पादन र उपयोगमा जोड

पछिल्लो समयमा नेपालीहरुमा बढ्दै गएका रोगहरुका कारण खानपानमा नयाँपन खोजिँदैछ । सुगर, प्रेसर, थाइरोइड, मुटु, मिर्गौला, कलेजो सम्बन्धी र क्यान्सर जस्ता रोगहरुले च्याप्न थालेपछि आहार विहारमा परम्परागत र मौलिक शैलीको खोजी हुन थालेको हो । त्यसका लागि प्राकृतिक खाद्य वस्तु र शैलीलाई पछ्याउनु आजको आवश्यकता बनेको छ । अन्नबालीमा रसायनिक मल र विषादीको अत्यधिक प्रयोगले उत्पादनलाई समेत विषाक्त बनाएको पाइन्छ । यस्तो विषाक्त उत्पादन खाँदा शरीरमा समेत नकारात्मक असर पर्ने मात्र होइन, घातक र दीर्घकालिन रोगहरु लाग्ने गर्दछन् । पछिल्लो समयमा मानिसहरुमा शारीरिक व्यायामको कमी, विषादीजन्य तरकारी, फलफूल, अन्न, प्याकेट गरिएको बजारका खानेकुरा खाँदा मानिसहरुमा अनेक थरीका रोगहरु लागिरहेका छन्  । यसबाट परिवारको आर्थिक व्ययभार त बढ्नेनै भयो, जीवननै दुःख र पीडादायी बन्ने प्रष्ट छ । यस्तै भइरहेको पनि छ ।
यसै सन्दर्भमा व्यक्तिले मात्र नभई स्थानीय सरकारले पनि अर्गानिक र मौलिक रैथाने खाद्यवस्तु र परिकारहरुमा ध्यान दिनुपर्ने कुरालाई महत्व दिन थालेको छ । दमक नगरपालिकाले यसैका लागि हालै मात्र दुई दिने स्थानीय र रैथाने कृषि उपज मेला तथा कृषि प्रदर्शनीको आयोजना गर्‍यो । यो मेलामा कमल गाउँपालिका, उर्लाबारी नगरपालिकादेखि दमक नगर क्षेत्रमा उत्पादन गरिएको रैथाने वस्तुहरुलाई राखिएको थियो । मेलाको उद्देश्य मानिसहरुमा अर्गानिक तथा रैथाने खाद्यवस्तुको प्रयोगका लागि प्रोत्साहन दिनु थियो । त्यस्ता उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउनु पनि कृषि मेलाको मकसद हुनु स्वाभाविक हो । मेलामा आयुर्वेदिक वस्तुदेखि प्रारंगाारिक मल, बाँसका उत्पादन सामग्री, कृषि उपज, खाद्यवस्तु लगायत राखिएको थियो । गत फागुन २७ र २८ गते दमक–८ स्थित अर्गानिक सब्जी बजारमा लगाइएको मेला दमकवासीहरुका लागि आकर्षणको केन्द्र बनेको थियो  । यी र यस्ता प्रकृतिका मेला तथा प्रदर्शनीहरु अन्य पालिकाहरुमा पनि आयोजना गरिनु वाञ्छनीय हुन्छ ।
परम्परागत मौलिक पहिचानका खाद्यवस्तुहरु पौष्टिकताले भरिपूर्ण हुन्छन् । ति वस्तुहरु विभिन्न आदिवासी जनजातिहरुका लागि मौलिक पहिचान, संस्कार र संस्कृतिका द्योतक पनि हुन् । यिनको प्रचार प्रसार, संरक्षण र प्रवर्धन आजको आवश्यकता हो । बजारमा देखिने प्रशोधन भएर आएका तथा केमिकल मिसिएका खाद्यवस्तुको उपयोग र उपभोगबाट मानिसको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । नसर्ने रोगहरुले मानिसको स्वास्थ्यमा आंकलननै गर्न नसकिने किसिमको क्षति पुर्‍याइरहेको छ । यो एउटा व्यक्ति, परिवारका लागि मात्र नभएर सिंगो समाजकै निम्ति प्रत्युत्पादक भइरहेको छ, हुन्छ पनि । यस्तो अवस्थामा आफ्नै गाउँ ठाउँमा पाइने र परम्परादेखि चल्दै आएका, स्थानीय स्तरमै उत्पादन हुने रैथाने वस्तुहरुको प्रयोग, उपयोग गर्नु र तिनको उत्पादनमा प्रश्रय पुर्‍याउनु टड्कारो आवश्यकता बनेको यथार्थ हो । रोग लाग्न दिनु भन्दा रोग लाग्न नदिनुनै जाति हुन्छ । यो कुरालाई हामी सबै नेपालीले मनन गरेर अघि बढ्नु आवश्यक छ ।

Author

You may also like