देश–समाज समाचार स्थानीय

केवलकार निर्माण बन्द नगरे वार्तामा नबस्ने आन्दोलनरत पक्षको अडान

झापा । ताप्लेजुङको बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण बुधबार पनि मेची राजमार्गमा यातायातका साधन संचालन हुन सकेन । यायातायाका साधन नचल्दा इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधन नचल्दा यात्रुहरुलाई असर पु¥याएको छ भने सेवाग्राहीहरु असर पु¥याएको छ ।
माघ १२ गते ताप्लेजुङको फुङलिङ –११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका, ताप्लेजुङ जिल्लाभित्र अनिश्चितकालीन यातायात बन्द आह्वान गरेर आन्दोलनमा उत्रिएका छन् । उता पाथीभरामा केबलकार निर्माण कार्य जारी रहेको छ । सुरक्षा घेराभित्र रहेर फुङलिङ – ११ स्थित काफ्लेपाटीमा केबलकार निर्माणको लागि बटम स्टेसनमा एउटा स्काभेटर प्रयोग गरी फाउन्डेसन खन्ने काम भइरहेको छ ।
सो विषय अब ताप्लेजुङको मात्र नभएर देशकै समस्याका रुपमा उत्रिएको छ । केवलकार निर्माणको विषयमा राजनीति रंग पनि भरिँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वार्ताका लागि बोलाएका छन् भने उता संघीय सरकारका गृहमन्त्री रमेश लेखकले पनि वार्तामा आउन भनेका छन तर यता केवुलकार निर्माण कार्य पूर्णरुपमा बन्द नगरी वार्तामा नबस्ने अडान आन्दोलनरत पक्षको रहेको छ । यो विषयले सबै दलका नेताहरुको समेत टाउको दुखाई बनेको छ ।
राष्टिूय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबुलकार निर्माण र प्रहरी दमन रोक्न माग गरेका छन् । लिङ्देनले संवादबाट समस्याको समाधान खोज्न सुझाएका छन् ।
केबुलकार निर्माणको काम ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरामा भइरहेको र विरोध गर्दै ‘नो केबुलकार’पक्षले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ जोड्ने सडकहरूमा मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि लिङ्देनको धारणा सार्वजनिक भएको हो ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लिङ्देनले लेखेका छन्, ‘मुकुमलुङ
(पाथीभरा) क्षेत्रमा भइरहेको केबुलकार निर्माण र सरकारी दमन रोकेर संवादबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछु ।’ तर, एमाले सांसद योगेशकुमार भट्टराईले भने बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केबुलकार निर्माणको काम निर्वाध रूपमा हुनुपर्ने बताएका छन् । ‘नो केबुलकार’पक्षलाई आन्दोलन फिर्ता लिन आह्वान गरेका छन् ।
बरु, उनले पाथीभरा क्षेत्रका स्थानीयलाई सेवा सुविधा दिनुपर्ने, मुक्कुमलुङ पार्क बनाएर स्थानीय संस्कृतिको जगेर्ना गर्नुपर्ने, संग्रहालय बनाउनुपर्ने, पक्राउ परेकाको रिहा र घाइतेको उपचार सरकारले गर्नुपर्ने बताए ।
मंगलबार गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, इलाम र सङ्खुवासभाका जनप्रतिनिधिसभा छलफल गरेका थिए । छलफलमा ताप्लेजुङका एमाले सांसद भट्टराई, उर्मिला थेबे, कांग्रेस सांसद लीलादेवी बोखिम, इलाम–२ का एमाले सांसद सुहाङ नेम्वाङ र सङ्खुवासभाका कांग्रेस सांसदसमेत रहेका ऊर्जामन्त्री दीपक खड्का थिए । छलफलको क्रममा गृहमन्त्री लेखकलाई छिटो सरकारी वार्ता टोली गठन गरेर ‘नो केबुलकार’पक्ष सँग संवाद गर्न सुझाएको सांसद थेबेले बताइन् । ‘आन्दोलनकारीमाथि गोली चलाएर भएन । संवादको माध्यमबाटै समस्याको समाधान गरिनुपर्छ । यसबारे गृहमन्त्रीलाई भनेका छौँ,’ उनले भनिन् ।
कोशी सरकारले मंगलबार नै आर्थिक मामिला तथा योजनामन्त्री राम रानामगरको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले पनि ‘नो केबुलकार पक्षलाई वार्ता बोलाएका छन् ।
तर, आन्दोलनमा रहेको ‘नो केबुलकार’पक्षले वार्तामा बस्न अडान राख्दै आएको छ । पहिले केबुलकार निर्माणको काम रोक्नुपर्ने र निर्माणस्थलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी हटाउनुपर्ने माग राखेको छ । त्यसपछि मात्रै वार्तामा बस्ने ‘नो केबुलकार’ पक्षको आन्दोलन गरिरहेका मुकुमलुङ संयुक्त संघर्ष समिति संयोजक श्रीप्रसाद लिम्बूले बताए । ‘वार्ता बसौँ भन्दैमा हामी बस्दैनौँ, यदि वार्तामा बस्ने वातावरण बनाउने हो भने त्यसका लागि केबुलकार निर्माण कार्य रोक्नुपर्छ र निर्माणस्थलबाट सुरक्षाकर्मी हटाउनुपर्छ, जसले हामीलाई ताकीताकी गोली हानेको छ,’ उनले भने ।
गत शनिबार जिल्लाको फुङ्लिङ नगरपालिकाको वडा नम्बर १० र ११ को सीमामा पर्ने बलुडाँडामा सशस्त्र प्रहरी र आन्दोलनरत पक्षबीच तनाव हुँदै सशस्त्र प्रहरीले गोली चलाएको थियो । आन्दोलनरत पक्षले ढुङ्गामुडा गरेको प्रहरीले जनाएको छ ।
त्यस क्रममा प्रहरीको गोली लागेर तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका( ८ का धर्म पालुङ्वा गोली लागेर गम्भीर घाइते भए । उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।
सशस्त्र प्रहरीको गोली लागेरै विशाल लिम्बू र ध्वजनारायण लिम्बू घाइते भएका छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको लिम्बूले जानकारी दिए । उनका अनुसार दुई जनालाई प्रहरीले हिरासतमा राखेको छ । सशस्त्र प्रहरीतर्फ पनि २१ जना प्रहरी घाइते भएको प्रहरीको दाबी छ । कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, कांग्रेस सांसद मैया श्रेष्ठ लावती, प्रदीपकुमार सुनुवार, नेकपा एसकी सांसद खिनु लङ्वा लिम्बूलगायतले मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा राज्य आतंक सिर्जना गर्ने, प्रहरी दमन गर्नेजस्ता गतिविधि रोक्दै समस्या समाधान गर्न माग गरेका छन् ।

Author

You may also like