विराटनगर / दर्शैं मान्न यता र उता ओहोरदोहोर गरिरहेका कोशी प्रदेशका मानिसहरु दुर्घटनाबाट टाढा रहन सकेनन् । दशैंका २ हप्ताको अवधिमा कोशी प्रदेशका विभिन्न २६९ ठाउँमा भएको सवारी दुर्घटना परी १४ जनाको ज्यान गएको छ । असोज १७ गते घटस्थापनादेखि असोज २९ गतेसम्म २६९ ठाउँमा दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ भने ३९ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिएका छन् ।
ज्यान गुमाउनेमा १३ जना पुरुष र एक जना महिला रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा सबैभन्दा बढी मोरङमा परेका छन् । ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाले मोरङ्कै भुमागमा ज्यान गुमाए भने १६ जना गम्भिर घाइते भएको एसपी पौडेलले बताए ।
त्यसैगरी सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गयो भने सात जना गम्भीर घाइते भएका छन् । त्यस्तै झापामा ७२ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु, धनकुटा र खोटाङमा १–१ जनाको मृत्यु भएको छ । १२ दिनमा ७ हजार ५९१ वटा सवारी साधान कारवाही गरेर ५१ लाख ९५ हजार ५०० रुपैयाँ राजस्व असुली गरेको छ । गत वर्ष कोशी प्रदेशमा दसैंको ६ दिनमा १३५ वटा सवारी साधन दुर्घटनामा परेको मध्ये ४१ जना गम्भीर घाइते र २२४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ ।