दमक । अघिल्लो हप्ता आएको अविरल वर्षाले देशभर ६ अर्ब बढीको क्षति हुँदा झापा पनि त्यसबाट अछुतो रहन सकेन ।
अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत गरिदिएर करोडौंको क्षति पु¥याएको छ । पाक्न लागेका धान र खेत समेत बगर बने पछि किसानहरु वर्षभरि परिवारको पेट कसरी पाल्ने भन्ने पिरालोमा छन् ।
यतिखेर केही दिन अघि हरियो देखिएको धान खेत बगर देखिएको छ । हरियो धान खेतमा यतिखेर कन्काई नदिको बाढी कुदिरहेको छ । बाढीले गौरीगंज १ मा मात्र सयौं विगाह धान खेत नष्ट भएको स्थानीय बासिन्दा ईश्वर माझीले बताए । माझीका अनुसार पटक पटक नेतासँग आफ्ना गुनासा र जोखिमबारे अवगत गराउँदा समेत बेलैमा दरिलो बाँध निर्माण नगरेकाले आज उठिबास हुनु पर्ने दिन आएको बताए । उनले अझै पनि दरो बाँध निर्माण गरे सो क्षेत्रका धेरै किसानले भात खाने भाँडोको बचाउ गर्न सक्ने बताए ।
नदिमा आएको बाढीले दक्षिणी झापाका दर्जन बढी स्थानमा बाँध फुटाएर खेती योग्य जमिन बगर बनाएको छ । बाढी धान खेत हुँदै बस्ती तर्फ पसेकाले धान भन्दा मानवीय क्षतिमा चासो दिनु पर्ने सो क्षेत्रका रेडक्रसकर्मी सिपी भट्टराईले बताए । भट्टराईका अनुसार धानसँगै बग्न सक्ने घर परिवारको समेत संरक्षणमा सरकारले चासो दिनु पर्ने बताए ।
सयौं किसानको गरीखाने खेती बगर बने पछि उनीहरु ठूलो समस्यामा परेका छन् । सरकारले तत्काल हेरेर क्षतिपुर्ती दिने व्यवस्थासँगै दरिलो तटबन्धन गर्नु पर्ने बाढी पीडित किसान देवेन राजवंशीले बताए ।
झापामा बाढी पसेर बाँध कटान भएको क्षेत्रमा मात्र झण्डै ४ सय हेक्टर क्षेत्रफल धान खेत बगर बनेको छ । पछिल्लो बाढीले बाँध फुटाएको क्षेत्रमा बाँध निर्माण गर्न मात्रै झण्डै ३५ करोड बजेट खर्च हुने जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्याक्रमको कार्यालयले जनाएको छ । तत्काल रोकथामका लागि समेत झण्डै ३ करोड खर्च लाग्ने कार्यालयले जनाएको छ ।
त्यसो त धान तथा तरकारीमा ठूलो क्षति सुनसरीले पनि व्यहोरेको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ । जिल्लामा मुख्यरूपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा क्षति पुगेको किसानहरु बताउँछन् ।
लहरे तरकारी, केरा, उखु, काउलीसहितलाई खोलाको भेल र डुबानले असर पु¥याएको छ । केही दिनअघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन्।
यसैगरी सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगाएको छ । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन्।
’अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको ३५ हजार रूपैयाँसम्म खर्च भएको थियो’, उनले भने।
केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भीषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक छन् उमेश माझी । घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो’, उनले भने।
कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दसैँलगत्तै धान काट्ने सोचमा थिए। तर अघिल्लो साता लगातार परेको वर्षाका कारण आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ ।
’चार बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ’, उनले भने, हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।’
त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।
यहाँ करिब पाँचसय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कविरले बताए । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उनले बताए ।
किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।