देशमा दुर्घटनाको अवस्था कहालीलाग्दै बन्दै गएको छ । डेढ महिना नपुग्दै ४ वटा ठूला दुर्घटना भईसकेका छन् । दुई वटा हवाई दुर्घटना भए भने २ वटा यात्रुवहाक सडक दुर्घटना भए । जसमा ७४ जनाको ज्यान गएको छ भने त्रिशुलीमा पहिरोमा परेर नदीमा बेपत्ता भएका २ बसका ४० जनाको शव अझै मेटिएको छैन ।
पोखराबाट काठमाडौं पशुपतिको दर्शनका लागि गएको भारतीय तिर्थयात्रीसहितको गाडी तनहुँको आँबुखैरेनीमा द्ुर्घटना हुँदा २७ जनाले ज्यान गुमाएर । तिर्थ यात्राका लागि झण्डै सय जनाको हाराहारीमा भारतबाट आएका तिर्थयात्रीहरु मध्ये दुर्घटनाग्रस्त गाडीमा ४३ जना रहेका थिए ।
भारतको महाराष्ट्रबाट दुईवटा बसभरि यात्रुहरू तीर्थाटनका लागि भैरहवास्थित बेलहिया नाका हुँदै साताव्यापी नेपाल भ्रमणमा नेपाल आएका थिए । ‘उनीहरू लुम्बिनी घुमेर पोखरा आएका हुन् । पोखराको होटल स्पोर्ट्स र पोखरा इन् होटलमा रहेर दुई दिन भ्रमण गरेका थिए । उनीहरूको भ्रमणमा सहजीकरण गरिरहेका पर्यटन व्यवसायी दुर्गाप्रसाद पाण्डेले भने, ‘पशुपति घुमेर फर्कने भनेर उहाँहरू काठमाडौं जान लाग्नु भएको रहेछ । एउटा बस अगाडि कटिसकेको थियो । पछाडि आएको बस मस्र्याङ्दीमा हाम्फाल्यो ।’
नेपालको भ्रमण गर्नेमा अधिकांश भारतीयहरु नै छन् । बाहिरबाट आएका पर्यटकलाई सुरक्षित ढंगले यात्रा गराउने जिम्मेवारी र दायित्व नेपाल सरकारको हो । कतिपय पर्यटकलाई बाटो सहज र असहज थाहा नहुन सक्छ । त्यसको गाइड गर्न पर्यटन व्यवसायीले ठाउँ ठाउँबाट जानकारी गराउनु पर्ने थियो । बीच बीचमा रहेका सुरक्षा निकायबाट पनि पर्यटकको गाडी रोकेर बाटोको विषयमा जानकारी गराउन सक्नु पथ्यो । वर्षाको समय छ र जताततै बाढी, पहिरोको समय भएकाले त्यो आवश्यक थियो तर त्यो पनि देखिएन ।
नेपाल भ्रमणमा आउनेमा सबैभन्दा धेरै भारतीय धार्मिक पर्यटकको संख्या छ । विशेषगरी उनीहरू लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, मनकामनालगायतका मन्दिरमा पूजा गर्न आउने गर्छन् । सोही क्रममा आएको बस सडक दुर्घटना हुँदा ठूलो संख्यामा भारतीय पर्यटकको मृत्यु भएपछि पर्यटनमा ठूलो क्षति हुने पर्यटन व्यवसायीहरूको चिन्ता छ । घट्नाका सन्दर्भमा गृहमन्त्री रमेश लेखकले भारतीय मन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् ।
कोरोना संक्रमणदेखि यता बल्लतल्ल सामान्य रुपमा बढ्दै गएको पर्यटन क्षेत्रमा हुने यस्ता दुर्घटनाले ठुलै हानीनोक्सानी पु¥याउन सक्छ । त्यसै पनि ‘कहिले जहाज दुर्घटना, कहिले बस दुर्घटना, कतै बाढी, कतै पहिरोले गर्दा विदेशीहरू नेपाल भ्रमण आउन एकदम आनाकानी गरिरहेको अवस्था छ । अब यसले सिधै नेपालको पर्यटन व्यवसायलाई असर पु¥याउँछ । पूर्वाधार निर्माणमा समेत नेपाल चुक्दै गएको छ । भ्रष्टाचारको चालोमा परेर तलदेखि माथिसम्मका कमाउने अभ्यासले गर्दा पूर्वाधार निर्माण कमजोर बनाइएका छन् । अब पर्यटन क्षेत्रमा केही हुन्छ कि भनेका बेला यो दुर्घटनाको खबरले भारतीय पर्यटक स्तब्ध हुने अवस्था आएको छ अर्कातिर पूर्वाधार पनि त्यस्तै छ । कतिखेर कहाँ पहिरो खस्छ, कतिखेर गाडी नै खस्छ पत्तो छैन नहुँदा दुर्घटना हुने सम्भावना बढी देखिन्छ । यसरी नेपालको पर्यटन प्रवद्र्धन हुने गरी भारतबाट आएका तिर्थालु भक्तजनहरुको यति ठुलो संख्यामा निधन हुनुले नेपालको पर्यटनलाई समेत धक्का पर्न सक्छ । संघीय सरकार तथा प्रदेश सरकारहरुले पर्यटन वर्षको रुपमा लिइरहँदा हुने यस्ता दुर्घटनाले त्यसलाई असर पर्न सक्छ । सम्बन्धित निकाय र सरोकारवालाहरु समयमै सचेत र सजग भएर उनीहरुलाई सुरक्षित ढंगले यात्रा गराउन सक्नुपर्दछ । र यस्ता दुर्घटनाको गहन अनुसन्धान गरेर सम्बन्धित निकाय वा जिम्मेवार व्यक्तिहरुलाई कारवाही पनि गरिनुपर्दछ । भ्रमण गराएर पैसा असुल्ने प्रपञ्चमा पर्यटन व्यवसायीको हुनुहुँदैन । उनीहरुको सुरक्षित यात्रा गरेर घरसम्म पुग्ने वातावरण मिलाउन सक्नु पर्दछ ।