१८ साउन, दमक । अन्त्य भएको विद्युत् लोडसेडिङ पुनः सुरु भएको अनुभूति दिलाएको छ । दमक क्षेत्रमात्र नभएर यतिखेर देशैभरि विद्युत अनियमितताको समस्या बढ्दै गएको छ । ३८–४० डिग्रीको गर्मीमा बारम्बार छिनछिनमा गईरहने विद्युत्को कारणले सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ ।
बन्द, व्यापार, उद्योग मात्र होइन घरायसी प्रयोजनमा समेत यो विद्युत् अनियमितताको मारमा सर्वसाधारण परेका छन् ।
भर्खरै मात्र राज्यले १६ अर्ब बढीको विद्यूत भारतलाई बेचेको सुखद् समाचार आइरहँदा यता आफ्नै जनताले विद्युत्कै कारण खेप्नु परेको सास्तीले त्यो सुखद् समाचारलाई फिक्का बनाइदिएको छ ।
विद्युत् लाईन मर्मत् र जडानका कुराहरुले समेत घण्टौ विजुली अवरुद्ध हुने गरेको छ । बुधबार दमकको यलम्बर चोकमा दिउँसो गर्मीको उच्चतम् विन्दुको समयमा एक घण्टा लाइन काटेर विद्युत् ममर्त तथा जडानको काम गरिएको छ । त्यसबेला लाइन काटिएको कारण थियो– भोल्टेज कमको समस्या समाधान । त्यो बेलाको जनताको सास्ती छुट्टै थियो । दोकान छोडेर सबै बाहिर सितल र हावा आउने ठाउँमा बसेका भेटिन्थे । कतिले त पसलमा आएका ग्राहक नै फर्काइदिए यो क्रम बढी मात्रामा होटल व्यवसायीको थियो । फेरी विद्युत् प्राधिकरणका कर्मचारीले गरेको कामको दृश्य पनि निकै टिठ् लाग्दो थियो । त्यो चरम् गर्मीको समयमा ११ मिटर अग्लो पोलमा चढेर पसिना पुछ्दै टुप्पामा विजुलीको तार समाएर काम गर्नुको जोखिम कसैले नजरअन्दाज गर्न सक्दैन । जनतालाई सहज विजुली उपलब्ध कहिले हुने र कर्मचारीले सहज ढंगले काम गर्ने वातावरण कहिले पाउने ? भन्ने प्रश्न अनुत्तरित छ ।
विद्युत अनियमतिताले यो आर्थिक संकटको बेला मानिसहरु वैकल्पिक उर्जाको व्यवस्थापन गर्न निकै असहज बनाइरहेको छ । सकी नसकी इन्भर्टर, ब्याट्रीहरु किनेर व्यवस्थापन गर्नुपर्ने बाध्यतामा सर्वसाधारण परेका छन् । अर्कोतिर दुःखले घर, अफिस वा उद्योगमा जोडिएका सामग्रीहरु विद्युतीय अनियमितताले गर्दा बिग्रेर झनै ठूलो क्षति पनि भईरहेको छ । खास गरेर भोल्टेज अपडाउन हुँदा नै यसरी इलेक्ट्रिक सामान बिग्रने सम्भावना रहने विज्ञहरु बताउँछन् । यता सरकारी क्षति पनि त्यतिकै भईरहेको छ । अत्याधिक गर्मीको समयमा तातेर कतिपय ट्रान्समिटरमा आगो लागेर लाखौंका ट्रान्समिटर छिनभरमा सकिएको अवस्था छ ।
यता विजुलीको अनियमितताका सन्दर्भमा ट्रान्समिटरको फ्युज जाने, वर्षाको कारणले हुने क्षति न्युनिकरणका लागि पनि लाइन काटिने, भोल्टेज कम भएका वा मर्मत गर्नुपर्ने स्थानमा मर्मतका कारणले पनि विद्युत् अनियमितता आकस्मिक रुपमा हुने गरेको विद्युत प्राधिकरण वितरण केन्द्र दमकका (उप–प्रबन्धक) केन्द्र प्रमुख ई.परितोष कुमार चौधरी बताउँछन् ।
केन्द्र प्रमुख चौधरीका अनुसार दमक केन्द्रबाट शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिका तीन वटा स्थानीय तहका गरी ७० हजार गा्राहकलाई हेरिरहेको छ । यस केन्द्रबाट ग्राहकको नियमित रकम उठिरहेको र वार्षिक करिब ९० करोड रकम संकलित भईरहेको पूर्वसन्देश दैनिकसँगको कुराकानीका क्रममा बताए । चौधरीका अनुसार स्थानीय तह बाहेक सबै ग्राहकको लाइन काट्दै गर्दा पनि रकम संकलन भईरहेको तर तीन वटै स्थानीय तहको बक्यौता ठूलो रकम बाँकी रहेको उनले बताए । चौधरीका अनुसार दमक नगरपालिकाले मात्र आर्थिक वर्ष ०८०÷०८१ को फागुन महिनासम्मको सडक बत्तिको रकम ७ करोड ८९ लाख तिर्न बाँकी देखिन्छ । भर्खरै सम्पन्न नगर अधिवेशनबाट बक्यौता तिर्ने निर्णय गरेको सुन्नमा आए पनि अहिलेसम्म नगरपालिकाकाले बक्यौताको रकम भुक्तानी सम्बन्धमा कुनै जानकारी नगराएको र चाँडै आउँछ भन्नेमा आफु ढुक्क रहेको बताए । यसैगरी कमल गाउँपालिकाको पनि गाविसकै पालादेखिको रकम ४५ लाख बाँकी रहेकोमा ५ लाखको चेक आएको र शिवसताक्षी नगरपालिकाको २ करोड ५ लाख फागुन सम्मकै भुक्तानी हुन बाँकी रहेको छ । त्यसो त जनताको काममा सहजता आओस् । कुनै दुःख कष्ट नहोस् भनेर लागिरहेको सन्दर्भमा जनताका गुनासा सुन्नपर्दा निकै दुःख लाग्ने गरेको पनि चौधरीले बताए । उनले भने– जनताकै लागि हामी बसेका हौ । जनताले पाउने सेवामा मानवीय रुपबाट हामीले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने तर गर्मीको कारण वा अन्य आकस्मिक रुपमा आउने समस्याका कारणले जनतामा असुविधा हुने गरेको पनि सुनाए ।
प्राधिकरण दमक केन्द्रबाट जनताको सुविधाका लागि आएको माग अनुसार पुरा गर्दै जाने काम पनि गरिरहेको चौधरीले बताए । उनले भने २४ एमबीएको ट्रान्समिटर ७ वटा अपग्रेट भएको र १८ वटा नयाँ ठाउँमा राखिएको सुनाए । पुरानो संरचना अन्तर्गत दुई वटा तार लगिएको स्थानमा भोल्टेजको समस्या आएको हुँदा त्यसलाई पनि अपग्रेड गर्ने काम भईरहेको उनले बताए । दुहवी र काबेलीबाट जोडिएको विद्युत केन्द्रको कार्यक्षेत्रका लागि प्रशस्त रहेको पनि उनले सुनाए ।
चौधरीका अनुसार दमकको उक्त केन्द्रबाट मासिक रुपमा ३०० मिटर वितरण भईरहेको बताए । विगतको जस्तो चुहावट नभएको यस केन्द्रमा बेलडाँगी लगायतमा सुधारका कामहरु भईरहेको बताए । उनले भने ११ मिटरका पोल बजार सौन्दर्यकरणका लागि ३०० सुधारमा खपत भएको, ९ मिटरका पिएसी पोल २५० वटा सुधारमा खपत भएको र नयाँ बिस्तारमा ६८० वटा पोल कार्यक्षेत्रभित्र गाडिएको चौधरीले बताएका छन् ।