मुख्य राजनीति

सुहाङको यात्रा : अधिवक्तादेखि सांसदसम्म

इलाम, १९ वैशाख । बुबा सुवासचन्द्र नेम्बाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा २०४६ फागुन ६ मा काठमाडौंमा जन्मिएका हुन् सुहाङ नेम्वाङ ।

संविधानसभा अध्यक्ष भइसकेका सालिन व्यक्तित्वका रुपमा नेपाली राजनीतिमा प्रभावशाली छवि बनाएका आफ्ना बुबाको ०८० भदौ २६ मा हृदयघातका कारण निधन भएपछि उनी एकाएक राजनीतिमा आए । नेकपा एमाले पार्टीले दिएको जिम्मेबारी अनुसार ३५ वर्षमा टेक्दै गरेका उनले इलाम २ मा बुबाले जितेको ठाउँमा उम्मेदवार बनेर विजय हासिल गरेका छन् । उनको प्रारम्भिक शिक्षा काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा भयो । जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरेपछि ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अढाइ वर्षकालागि अस्ट्रेलिया गएका सुहाङ कानुनको बीएएलएलबी अध्ययनका लागि पुनः नेपाल फर्किए । ‘काठमाडौं स्कुल अफ ल’बाट उनले एलएलबी र एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौँको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए ।

आफूलाई जति आवश्यक छ, त्यतिमात्र पढ्न मन पराउने सुहाङको खेलकुदमा लगाब भने निकै राम्रो छ । स्कुले जीवनमा धेरैजसो होस्टलमै जीवन बिताएका सुहाङ अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगितामा सहभागी हुनथाले ।

बुबा सुवासचन्द्रको सल्लाहअनुसार इलाम स्पोर्टिङ डी मेची क्लब स्थापना गरे । यो क्लब बुबाको र आफ्नो सपना भएको सुहाङ बताउँछन् । खेलकुद बुबाको पनि सपना रहेको भन्दै सुहाङ खेल क्षेत्रको विकासमा लाग्नुपर्छ भन्ने कुराले सधैं प्रेरित गर्नेगरेको सुनाउँछन् । .

बुबाले कहिल्यै पनि आफूलाई आफ्नो प्रभावमा सरकारी जागिर नखुवाउने बताउने गरेको उनी सम्झिन्छन् । व्यक्ति आफैं सक्षम बन्नुपर्छ भन्ने बुबाकै प्रेरणाले आफूले कहिल्यै पनि बुबाको शक्तिलाई आफूले आड नलिएको सुहाङ बताउँछन् ।

बुबासँग नौ पटकमात्र दशैं–तिहारजस्ता चाडपर्व मनाएको स्मरण गर्दै सुहाङ बुबाले आफ्नो सबै जीवन देश परिवर्तन र पार्टीका लागि नै दिएको ठहर गर्छन् । आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकका साझा भएको उनी बताउँछन् ।

‘एकपटक सबै उम्मेदवारसँग बसेर छलफल गर्न मन छ । उहाँहरूले उठाउनुभएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्नु छ,’ सुहाङ भन्छन्, ‘काम नभएको होइन, भएको छ, तर कहाँ कमजोरी भएर ढिलाइ भएको छ, कहाँ पुगेर यहाँका अधुरा योजना पूरा गर्न सकिन्छ, ती काम मैले गर्नुपर्छ ।’

इलाम–२ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरण अर्को समस्या देखिएको उनको बुझाइ छ । शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा पनि काम गर्नुपर्ने उनका प्राथमिकता छन् । ‘यहाँका ४२ वटै वडा घुमेर आउँदा थुप्रै समस्या पाइएको छ, भोट दिने आशीर्वाद दिइरहँदा यहाँका बुबा–आमा, दाजुभाइ, दिदी–बहिनीले झारेको आँसुको ऋण तिर्नु छ,’ उनी भन्छन् ।

अब इलामबाट टाढा जान नसक्ने भन्दै सुहाङले ‘नीति निर्माणमा मैले निर्वाह गर्ने भूमिका त छँदैछ, यहाँका काम र योजनालाई माथिबाट अनुमोदन गराउने विषयमा काठमाडौं जानुपर्छ, आउनुपर्छ,’ उनले भने, ‘म सधैं इलामबासीसँगै हुन्छु । हामी काठमाडौंमा हुँदा बुबाले जसरी हामीलाई मात्र होइन, इलामलाई नै एक परिवार सम्झिनुहुन्थ्यो, मैले भुलेको छैन । इलामबासी सबैलाई एउटै मालामा बाँध्ने उहाँको सपना मैले पूरा गर्नुछ ।’

उनले विगत स्मरण गर्दै भने ‘बुबाले आफ्नो पार्टीलाई माथि उठाउनुभयो, यहाँका बासिन्दाले बुबालाई श्रद्धाञ्जली दिनुभयो, मलाई आशीर्वाद दिनुभयो । म यही इलामे जनताको सेवामा इमान्दारितापूर्वक समर्पित हुनेनै छु ।’

सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ । उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ ।

हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य हुन् । उनका एक दाजु, एक दिदी र एक बहिनी छन् । उनको दिदी सुसाङ पेसाले डेण्टल सर्जन हुन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छन् ।

Author

You may also like