पंकज दाहाल,
दमक, १७ फागुन। दमक नगरपालिकाले सबैका लागि निःशुल्क र अनिवार्य आधारभूत शिक्षा भन्ने संविधानको भावनालाई व्यवहारमा रुपान्तरण गर्न भन्दै कक्षा ५ सम्म नगरका सबै सरकारी विद्यालयहरुमा अनिवार्य अंग्रेजी माध्यममा पठनपाठन र निःशुल्क शिक्षा दिने तयारी थालेको छ । यसअघि कतिपय सरकारी विद्यालयहरुले व्यवस्थापन तथा अन्य सहयोग शुल्कका नाममा विद्यार्थी तथा अभिभावकहरुबाट शुल्क उठाउँदै आएकोमा आगामी शैक्षिक सत्रदेखि कुनै पनि शीर्षकमा कुनै पनि प्रकारको शुल्क उठाउन नपाइने गरी व्यवस्था गर्न लागेको हो । नगरपालिकाको बुधबार सम्पन्न १४ औं नगर सभामा यस्तो तयारी गरी निर्णय गर्नेबारे आवश्यक तयारी भइरहेको कुरा नगर प्रमुख राम कुमार थापाले जनाएका थिए । त्यसका लागि आवश्यक पर्ने आर्थिक दायित्वको जिम्मेवारी सम्पूर्ण रुपमा नगरपालिकाले लिने पनि नगर प्रमुख थापाले बताएका छन् ।
नगर सभाको अध्यक्षता गरेका नगर प्रमुख थापाले शुरुवाती मन्तव्य राख्दै नगरपालिकाले चालू आ.व.मा विकास निर्माण र सामाजिक विकासका उल्लेख्य काम र उपलब्धि हासिल गरेको बताए । नगर सभामा केही दिनदेखि दमक अस्पतालमा रहेर उपचाररत रहेकी नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाई पनि अस्वस्थताका बावजुद उपस्थित आफ्नो जिम्मेवारी निर्वाह गरेकी थिइन् । नगर सभामा नगर प्रमुख र उप–प्रमुखको कोष संचालन सम्बन्धी कार्यविधि पारित गरेर बुधबार बिहान ९ बजे शुरु भइ अपरान्ह ३ बजे सफलतापूर्वक समापन भएको थियो । नगर सभामा उप–प्रमुख भट्टराईले आर्थिक ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र विनियोजन ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक पेश गरेकोमा आवश्यक छलफल पछि सर्वसम्मत रुपमा पारित गरिएको थियो । सभामा न्यायिक समितिको प्रतिवेदन समितिका सदस्य तथा वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष कमल कुमार श्रेष्ठ, राजश्व परामर्श समितिको प्रतिवेदन वडा नं. ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, अुनगमन समितिको प्रतिवेदन वडा नं. ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाल, लेखा समितिको प्रतिवेदन वडा सदस्य गोपाल प्रसाद संग्रौला, विधायन समितिको प्रतिवेदन समिति संयोजक लोक बहादुर धिमाल, सुशासन तथा स्थानीय सेवा समितिको प्रतिवेदन संयोजक तथा वडा नं.३ का वडाध्यक्ष नविन बराल, वातावरण समितिको प्रतिवेदन समितिको सदस्य पुण्य प्रसाद दाहाल, पूर्वाधार समितिको प्रतिवेदन संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष भिम प्रसाद पौडेल, आर्थिक विकास समिति संयोजक इन्द्र बहादुर गुरुङ र सामाजिक विकास समितिको प्रतिवेदन संयोजक शारदा भट्टराई सापकोटाले प्रस्तुत गरेका थिए ।
प्रस्तुत विधेयक र प्रतिवेदनहरु खुला सत्रमा आवश्यक छलफल गरी पारित गरिएको थियो । छलफलका क्रममा सहभागी वडा सदस्यहरुले दमकको सडक धुलाम्मे भएको र त्यसलाई जतिसक्दो चाँडो व्यवस्थापन गर्नुपर्ने भनी आवाज उठाएकोमा नगर प्रमुख थापाले सो कार्य नगरपालिकाको जिम्मामा नभएकोले सम्बन्धित माथिल्लो निकायलाई सक्दो चाँडो काम सक्न समन्वय र अनुरोध गरिसकिएको जवाफ दिए । सो सत्रमा उठेका प्रश्नहरुमा मेयर थापाले वडा नं. ३ मा रहेको दमक भ्यू टावरको संचालनका बारेमा आवश्यक कार्ययोजना बनाएर संघीय सरकारले हस्तान्तरण गरेपछि मात्र नगरपालिकाले जिम्मा लिने बारेमा सोच्न सकिने र दमक–९ मा रहेको फाल्गुनन्द सभाहल पनि पूर्ण रुपमा फर्निचरहरुको व्यवस्थापन गरी हस्तान्तरण गरेमात्र त्यसलाई पनि संचालनको जिम्मा लिन सकिने बारेमा सोच्न सकिने बताएका थिए । नगर सभा सौहाद्र्रपूर्ण रुपमा सम्पन्न भएको वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष कमल कुमार श्रेष्ठले बताए ।