दमक, १६ फागुन । दमक उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवबाट ३३ लाख बढी बचत गर्न सफल भएको छ । संघले २८ माघदेखि फागुन १२ गतेसम्म दमक ७ सयपत्री टोलमा प्रादेशिकस्तरीय पाँचौ दमक महोत्सव २०८० को आयोजना गरेको थियो ।
संघले मंगलवार आफनै सभाहलमा पत्रकार सम्मेलन गरी महोत्सवको आयव्यय सार्वजनिक गर्दे महोत्सवबाट सवै खर्च कटाएर ३३ लाख बढी बचत गर्न सफल भएको जनाएको छ । संघका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाईले यस वर्षको महोत्सव हालसम्मकै ऐतिहासिक वन्न सफल भएको बताए । जसअनुसार करिब १ लाख टिकट बिक्री भएको र स्टल शुल्क, प्रायोजन, सहप्रायोजन, पार्किङ शुल्क लगायतका गरी ४१ लाख ५६ हजार ५ आम्दानी गर्न सफल भएको उल्लेख छ । त्यसमध्ये विभिन्न कार्यमा खर्च ७ लाख ८१ हजार ६ सय ३० रुपैया गरी कुल ३३ लाख ७४ हजार ८ सय ७० रुपैयाँ बचत भएको उल्लेख छ । महोत्सवमा ५ करोड बढीको कारोवार भएको अध्यक्ष गुरागाईंले जनाए ।
महोत्सवबाट संकलित रकम संघले निर्माण सुरु गरेको इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने अध्यक्ष गुरागाईले बताएका छन् । महोत्सव हिसाव सार्वजनिकका अवसरमा महोत्सवमा प्रवेश टिकटहरु मध्ये एक जनालाई भाग्यशाली उपहार स्वरुप स्कूटीको लक्की ड्र गरिएको थियो । सो लक्की ड्रमा २४७८ नम्बरको टिकटले स्कूटी जित्न सफल भएको थियो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायत संघका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो ।