दमक, २५ पुस। समाजसेवाबाट आफुलाई नेपालभर चिनाउने अभियानमा लागेका दमकका सामाजिक अभियन्ता लक्ष्मीप्रसाद संग्रौलाले वार्षिक १५ लाख रुपैयाँ समाजसेवामा खर्च गर्ने गरेका छन् ।
३५ औं वर्षदेखि समाजसेवाका गतिविधि गर्दै आएका दमक ८ का संग्रौलाले विगत १० वर्षयता भनें ठूलै रकम खर्चेर नियमित रुपमा सामाजिक काम गर्दै आएका छन् । उनले यो वर्ष १ हजार ३ सयवटा ओढ्ने कम्बल र ३ सय थान ओछ्याउने मेट्रेस खरिद गरेर आर्थिकरुपमा अति विपन्न परिवारलाई वितरण गर्ने काममा लागेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ का २९ वडामध्ये हालसम्म १८ वटा वडामा ७ सय ५० वटा कम्बल वितरण कार्य सकेका छन् । त्यसमध्येको १ हजार थान ५ नम्बर क्षेत्रका लागि र अन्य ३ सय थान त्यस बाहेकको क्षेत्रका लागि वितरणको योजना अनुरुप उनी कम्बल वितरणमा व्यस्त छन् । उनले ४ सय ५० रुपैयाँ दरका कम्बल र थपमा मेट्रेस समेत गरी ७ लाख रुपैयाँको सामग्री आफ्नो गाडीमार्फत ठाउँ ठाउँमा वितरण गरिरहेका छन् । ‘मैले आर्थिकरुपले अति विपन्न, असहाय, अपाङ्गताभएका, रोगले समस्या भएकाहरुलाई निःस्वार्थ रुपमा सहयोग पुर्याउने रुचि हो । त्यस अनुरुप वर्षको सालाखाला १५ लाख रुपैयाँ खर्च गर्दै आएको छु ।’– उनले हँसिलो मुद्रामा समाजसेवाको आनन्द व्यक्त गरे ।

३ सयको संख्यामध्ये उनले पछिल्लो पटक भक्तपुर क्यान्सर अस्पतालका विरामी कुरुवा घरलाई २० थान कम्बल वितरण गर्दैछन् । मनोहरीको चेपाङ सहितका समुदायका लागि आफ्नो फराकिलो योजना बनाएर समस्यामा परेकाहरुको पीडामा मल्हम लगाउने प्रयास गरिरहेको बताउँछन् । अघिल्लो वर्ष उनले ५ हजार थान झुल र २ हजार थान कम्बल वितरण गरेका थिए । उनी र श्रीमती लीलादेवी विमली संग्रौलाले दमक र काठमाडौंमा सञ्चालन गरेको व्यवसाय अनि घरभाडाबाट उठेको रकमका साथै अमेरिकामा आइटी इञ्जिनियर रहेका छोरा रविन र भक्तपुरमा रहेकी स्वास्थ्यकर्मी छोरी रंजिताको समेत आर्थिक सहकार्यमा समाजसेवामा आफुलाई फराकिलो चिनारी बनाएका छन् । उनले त घरभाडाबाट ३० प्रतिशत र व्यवसायको आम्दानीबाट २० प्रतिशत मुनाफा रकम समाजसेवामा भनेर निश्चित गरी छुट्याउँदै आएको सुनाए ।
समाजसेवाका क्रममा उनले जिल्लाको शिवसताक्षीमा कैलाशपति किरातेश्वर महादेवको २५ फुट अग्लो प्रतिमा र मन्दिरको गेट निर्माण गरिदिएका छन् । त्यहाँको तिलाश्री सर्वाेश्वर शालिग्राम स्वर्णीम दिव्य देवालय पनि निमार्ण गरेका हुन् । साे मन्दिरमा सवा लाख शालिग्राम प्रदान गरेका छन् । यसका साथै जिल्ला र जिल्ला बाहिरका दर्जनौंस्थानमा यस प्रकारका निर्माण कार्यमा पनि उनको उस्तै सक्रियता छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रहेका उनी सोही पार्टीको उद्योग प्रवद्र्धन तथा वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख छन् । दमकका संघ संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी हाल नेपाल मार्वल व्यापार संघका केन्द्रीय अध्यक्ष छन् । ‘म जहाँ जहाँ, जुन जुन हिसावले सक्रिय रहेपनि मेरो मुल मर्म सेवा नै हो । जिन्दगीमा मरेर लानु केही छैन, बाचुञ्जेल अरुका लागि सहयोग पुर्याऔं भन्ने लागेर परिवारको सहकार्यमा यसखाले काम गरिरहेको छु । यो कामले ज्यादै आनन्द मिलिरहेको छ । ’– उनले भने ।