मुख्य राजनीति

सत्ता राजनीतिको अनौठो खेल

पंकज दाहाल-
दमक, २९ असोज-
यतिबेला देशको केन्द्रीय राजनीति मुख्यत दुई कित्तामा बाँडिएको छ । एकातिर सत्ता गठबन्धनका दलहरु छन् भने अर्कातर्फ सबैभन्दा ठूलो दल नेकपा एमाले प्रतिपक्षमा छ । नयाँ उदाएका दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्तारुढ र बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएयता ठूला भनिएका राजनीतिक दलहरुलाई सुशासन र बेथितिको मुद्दा उठाएर आच्छु आच्छु पारिरहेका छन् । उनीहरुका लागि विगत ३३ वर्षको अवधिमा शासन गरेका दलहरुका पालामा भएका भ्रष्टाचारका काण्डहरुलाई इस्यू बनाएर नयाँ राजनीतिक दलहरु राजनीतिलाई गरमागरम बनाएको अवस्था छ । तर दर्शन, विचार, सिद्धान्त, कार्यकर्ता र केन्द्रदेखि गाउँ नगरका वडा मात्र होइन, टोल टोलमा जरा गाडेर बसेका ठूला दलहरुका अगाडि जतिसुकै प्रचारात्मक र सनसनीपूणर् धमाका मच्चाएपनि मतका आधारमा पौंठेजोरी खेल्न निकै पापड बेल्नुपर्ने देखिन्छ । यद्यपी भ्रष्टाचारविरुद्धको मसला र कोशी प्रदेशमा देखिएको सत्ताको अनौठो खेलले बिहीबारदेखि देशको राजनीति झनै तरंगित बनेको छ ।
कोशी प्रदेशमा शनिबार मात्र सत्तारुढ ठूलो घटक नेपाली काँग्रेसका ८ जना सभासदहरुले विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री पद हात पार्न सफल भएका छन् । शनिबार मात्र हस्ताक्षर सनाखत गर्दा उनीहरुको पक्षमा एमालेका ३९ सभासद्हरुले काँध थापेपछि ४७ सिट संख्या सहित बहुमत पुर्‍याएर काँग्रेसका विद्रोही सभासद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कार्कीको यो विद्रोहमा काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले साथ दिएका छन् । कोशी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको संसदीय दलका नेता हिक्मत कुमार कार्कीले २ पटक सम्म मुख्यमन्त्री रहँदा प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि आइलागेको सत्ता संकट टार्न उसले काँग्रेसको संस्थापन इतर पक्षलाई साथ दिएको स्पष्ट देखिन्छ । काँग्रेस केन्द्रदेखि सबै प्रदेशमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीसंगको गठबन्धनमा सामेल छ । केन्द्रमा तेश्रो ठूलो दलमा सीमित रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर साथ दिइरहेको छ । कोशीमा संस्थापक पक्षका सभासद् तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले भने काँग्रेसमा विद्रोह भएर केदार कार्की मुख्यमन्त्री नियुक्त भएसंगै संसदीय दलको नेताको पदबाट राजीनामा दिएका छन् । केन्द्रीय गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीका लागि दाबी पेश गरेको थियो । तर गठबन्धनकै काँग्रेसका सभासद् कार्की पक्षधरहरुले विद्रोह गरेर सफलता पाए, जसमा गठबन्धनका दलहरुको विमती थियो । सत्ता गठबन्धनबाट विगतमा दुई पटकसम्म मुख्यमन्त्री बनेको काँग्रेसका थापाले पनि विश्वासको मतमा वैधानिक मान्यता लिन सकेनन् ।
यो परिदृश्यमा मध्यावधिमा जाने अवस्था आउन नदिन एमालेलको काँग्रेसभित्र रहेको मतभेदलाई उपयोग गरेको छ । प्रदेश खारेजीको पक्षमा रहेका राप्रपा भने आफ्ना ६ सभासदलाई मौन बस्न लगाएर सत्ता पक्ष र विपक्षको एमाले दुवैलाई साथ दिन तयार भएन, जब कि यसअघि उसले एमालेका कार्कीलाई सकेसम्म साथ दिएको थियो । काँग्रेसको शेखर पक्षले कोशीमा अनौठो खेल खेलेको छ । तर उसले केन्द्रमा रहेको सत्ता गठबन्धनको पक्षमै रहेको भनेर लिखित सन्देश दिएको छ । शनिबार प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले एकबुँदे सहमित पत्रमा हस्ताक्षर गरेर कोशीमा अनौठो भएपनि अहिलेको माओवादीसंगको सहयात्रा र सत्तागठबन्धन कायमै राख्ने कुरामा आपूmहरु स्पष्ट रहेको उल्लेख गरेका छन् । यसबाट के बुझ्न सकिन्छ भने पद, प्रतिष्ठा र सत्ताका लागि राजनीतिक दलहरुले जस्तोसुकै खेल खेल्दा रहेछन् भन्ने प्रष्ट भएको छ । उता चितवनमा पुगेर प्रम प्रचण्डले पनि अब कोशीमा अहिले नियुक्त भएका काँग्रेसको विद्रोही पक्षका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताएका छन् । मुख्यमन्त्री कार्कीले अबको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । हुन पनि कोशी प्रदेशमा अबका मुख्यमन्त्री कार्कीले पनि विश्वासको मत लिन नसकेको अवस्थामा स्वतः मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ । तर मध्यावधिमा जाँदा जनतामा संघीयता र हालको निर्वाचन प्रणालीप्रति गलत सन्देश जाने भएकाले पनि प्रधानमन्त्री प्रचण्ड सहित सत्ता गठबन्धन सचेत रहेको देखिन्छ । मुख्यमन्त्री कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउने प्रयास गरिरहेपनि सम्भावना कस्तो रहन्छ र कस्तो खिचडी पाक्ने हो त्यो हेर्न बाँकी नै छ ।

Author

You may also like