दमक, २० असोज-
समाचार प्रकाशनको विषयलाई लिएर एक सहकारी संस्थाका अध्यक्षले सम्पादक र समाचारदातालाई दिएको मानसिक तनाव विरुद्धमा नेपाल पत्रकार महासंघसहितका पत्रकारजन्य संघ संगठनले विरोध जनाएका छन् ।
दमक-६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द सहकारी संस्थाको शाखा कार्यालय उर्लाबारीमा ‘वचतकर्ताको रकम गायव !’ शिर्षकमा दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकको समाचारका विषयलाई लिएर सहकारीका अध्यक्ष पदम लिङ्देन (संकल्प) ले पत्रिकाका प्रधान सम्पादक गञ्जबहादुर दाहाल र सोही पत्रिकाका उर्लाबारी समाचारदाता घनश्याम भण्डारीलाई पटक-पटक दिएको मानसिक तनाबका विरुद्धमा शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी संघ संगठनले आपत्ति जनाएका हुन् ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ झापाले विज्ञप्ति जारी गर्दै ‘महासंघका सदस्य अग्रज पत्रकार दाहाल र समाचारदाता भण्डारीमाथि दिएको धम्कि निन्दनीय रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा दोषीमाथि कारबाहीको माग समेत गरिएको छ । पत्रकार महासंघ झापा जिल्ला सचिव डिकेश लामाद्वारा जारी विज्ञप्तिमा, समाचारप्रति कुनै गुनासो भए आधार सहित त्यसउपर कानूनी उपचारमा जान सकिने अवस्थामा जे पनि गर्न सक्ने भन्दै मानसिक तनाव दिनु निन्दनीय कार्य भएको उल्लेख छ । प्रेस स्वतन्त्रता र कानून विपरीतको कार्य भएकाले पिडित पत्रकार र सञ्चारमाध्यमको सुरक्षाकालागि सम्बन्धित निकायसँग माग गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका महासचिव विवेक गौतमले पनि अग्रज पत्रकार तथा सम्पादक दाहालमाथि भएको घटना निन्दनीय रहेको उल्लेख गर्दै प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराएको विज्ञप्ति जारी गरेका छन् । जसमा पत्रकारको सुरक्षा र दोषीलाई कारवाहीको माग गरिएको छ ।
यस्तै, नेपाल पत्रकार महासंघ मोरङ शाखाले पनि विज्ञप्ति जारी गरेको छ । सचिव नेत्र पी अधिकारीद्वारा जारी विज्ञप्तिमा समाचारका विषयमा पत्रकार धम्क्याउनेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
पत्रकार मञ्च दमकले पनि विज्ञप्ति जारी गर्दै मञ्चका संस्थापक अध्यक्ष दाहाल र समाचारदाता भण्डारीमाथि सहकारी अध्यक्ष लिङ्देनले गरेको धम्किपूणर् व्यवहारको निन्दा गरिएको छ । अध्यक्ष कमन देवानद्वारा जारी विज्ञप्तिमा पत्रकारहरुको जिउधनको सुरक्षा तथा दोषीमाथि कारबाहीको माग गरिएको छ ।
प्रेस चौतारी कोशी प्रदेशले पनि विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । विज्ञाप्तिमा सचिव गोपाल झापालीले हस्ताक्षर गरेका छन् । चौतारीको झापा शाखाबाट अध्यक्ष मनकुमार गदालले घटनाको निन्दा गर्दै दोषी उपर कारवाहीको माग गरि विज्ञप्ति जारी गरेका छन् ।
प्रेस युनियन झापाले जिल्ला सचिव अर्जुन राजवंशीद्वारा जारी विज्ञप्तिमा पत्रकारको सुरक्षा र दोषीमाथि कारबाहीको माग गरिएको छ ।अ किरात राई पत्रकार संघ मोरङ अध्यक्ष विजय खम्बूले पनि विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा कुनैपनि पत्रकारलाई धम्क्याउनु निन्दनीय भएको उल्लेख गरेका छन् ।
यसैगरी सञ्चार क्लव नेपाल उर्लावारीले पनि विज्ञाप्ति जारी गर्दै क्लवका पूर्व अध्यक्ष भण्डारी र अग्रज पत्रकार दाहालमाथि मानसिक तनाव दिएर पत्रकारलाई धम्क्याउनु खेदजनक कार्य भएको उल्लेख गरिएको छ । विज्ञप्ति क्लवका महासचिव तिलक नेपालीले जारी गरेका छन् ।