मुख्य

होटल व्यवसायीका समस्यामा सरकारको ध्यान नपुगेको गुनासा

दमक/ होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकले आफ्नो १४ औं वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । झापाको दमक–२ भाङबारीस्थित हाम्रो दमक फन पार्कमा भएको सो कार्यक्रममा विशेष अतिथि रहेका होटल व्यवसायी महासंघ प्रदेश नम्वर १ का अध्यक्ष राजन दंगालले कोरोनाको महामारी पछि तङ्ग्रीन नसकेको पर्यटन उद्योगको रुपमा चिनिएको होटल व्यवसाय अहिले आएर पनि माथि उठन नसकेको बताए । उनले पर्यटन उद्योगको एउटा बलियो खम्बाका रुपमा रहेको होटल व्यवसायलाई उकास्ने कुरामा संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको ध्यान पुग्न नसकेको गुनासो गरे । उनले मझौला तथा साना होटल व्यवसायीहरुले सरकारले दिएको विद्युत महशुलको छुट उपभोग गर्न नपाएको, अन्य प्रदेशमा जस्तो प्रदेश १ मा विदेशी पर्यटकहरुलाई ओसारपसार गर्नका लागि निलो प्लेटको गाडी चलाउन नपाएको तर पर्यटकीय होटल दर्ता गर्दा लाग्ने ५ लाख धरौटी रकम भने घटाएर १ लाखमा ल्याउन आफूहरु सफल भएको जानकारी गराए । उनले अहिले होटल व्यवसायीहरुलाई बैंकको चर्को व्याज तिर्न धौ धौ परिरहेकाले सो मा न्यूनीकरण गरी समग्र होटल व्यवसायलाई माथि उठाउन राहत प्याकेजका कार्यक्रमहर ल्याउनुपर्ने धारणा राखे । साधारणसभाको उद्घाटन उनले नै कार्यक्रमको व्यानर वाचन गरेर गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले होटल व्यवसायीहरु संगठित भएर आफ्ना पीर मर्का र समस्या समाधानका लागि एकभएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । नेकपा माओवादी केन्द्र प्रदेश नम्वर १ का कोषाध्यक्ष गगन पुरीले दमकलाई पर्यटकीय हबका रुपमा विकास गर्न आफूहरुले प्रयास गरिरहेको र होटल व्यवसायीका समस्या समाधान गरी तीनवटै सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने साथै त्यसका लागि होटल व्यवसायीहरुले निरन्तर दबाब दिइरहनुपर्ने बताए । नेपाली काँग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईले सबै उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सरकारलाई दबाव दिन उद्योग वाणिज्य महासंघसंग मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । कार्यक्रमको उद्घाटन सत्रमा होटल व्यवसायी संघ दमकका अध्यक्ष तथा कार्यक्रमको समेत अध्यक्षता गरेका योगराज दंगालले संस्थाको वार्षिक प्रतिवेदन तथा आय व्यय विवरण पेश गर्दै होटल व्यवसायीहरुको हक, हित र अधिकारका लागि साथै परेका समस्याहरुको सम्बन्धित निकायमा पुगेर समाधान गर्न आवश्यक पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे । संघका महासचिव भुपेन्द्र न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य राजकुमार गौतमले राखेका थिए । बनभोज कार्यक्रम भएकाले विभिन्न गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । संघले विभिन्न समयमा स्वास्थ्य शिविर, फुड फेष्टिबल र सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ । दमकमा करिव साढे ३ सय होटल व्यवसायीहरु संघमा आवद्ध रहेका छन् । बनभोज कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा वडाध्यक्षहरु क्रमशः ५ का इन्द्र बहादुर गुरुङ, ६ का टेकबहादुर थापा, ७ का भिम प्रसाद पौडेल र ८ का दिपेश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रदेशमा २० अर्वको कारोबार

होटल व्यवसायी महासंघ प्रदेश नम्वर १ का अध्यक्ष राजन दंगालले यो प्रदेशमा होटल व्यवसायीहरुको मासिक २० अर्व बराबरको कारोबार हुने गरेको बताएका छन् । झापामा मात्र मासिक ५ अर्वको कारोबार हुन्छ । प्रदेशमा ८ हजार बढी होटल व्यवसायीहरु रहेका छन् । तर अहिलेको अवस्था र समस्या कायम रहने हो भने १० प्रतिशत होटलहरु बन्द हुने अवस्थामा पुग्छन् , झापामा यो अवस्था २० प्रतिशतको हाराहारीमा रहेको छ । प्रदेश १ मा होटल व्यवसायमा २२ हजारले रोजगारी पाएका छन् जुन संख्या झापामा ३५ सयको हाराहारीमा रहेको उनको भनाई छ । झापामा २ वटा पाँच तारे र १ वटा २ तारे होटल रहेको छ । पाँच तारे होटलमा मेचीनगरको मेची क्राउन प्लाजा र विर्तामोडको किङ्सबेरी रहेका छन् भने दमकको नेपालिरिका होटल तीन तारेमा पर्दछ ।

Author

You may also like