मुख्य

धान रोपाइँको धमाधम : किसानलाई भने मलकै अभाव

दमक/ कृषिप्रधान देश नेपालमा अहिले किसानहरुले धमाधम धान रोपाइँ गरिरहेका छन् । धान रोपाइँको मध्य समय छ अहिले । तर धान रोप्दा चाहिने रासायनिक मल युरिया, पोटास लगायतको अझै अभाव रहेको छ । डिएपी भने कम मात्रामा आएको स्थानीय किसानलाई रासायनिक मल बिक्री गर्दै आएका सहकारी संस्थाहरुले जनाएका छन् । उता भारतले वर्षे धान रोपाईंका लागि मल नदिने निश्चित भएको छ । मलका लागि नेपाल–भारतबीच भएको जीटुजी सम्झौताको एक आर्थिक वर्ष सकिएपनि मल आउने कुनै छाँटकाँट दैखिएको छैन ।
मल ल्याउन पहलका लागि कृषि मन्त्रालयबाट मन्त्रीदेखि अन्य उच्च अधिकारीहरु पटक पटक भारत पुगेका थिए । उसो त पाँच वर्षको लगातार प्रयासपछि २०७८ फागुन १६ गतेमात्रै दुई देशको बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता भएको पाँच महिना बितिसक्दा पनि मल भने आउन नसकेको हो । अहिले युरिया र पोटासको पूरै अभाव रहेको झापाको कमल–५ स्थित नेपाल दुग्ध उत्पादक सहकारी संस्थाका कर्मचारी शिव गौतमले जानकारी गराए । उनका अनुसार डिएपी केही कम मात्रामा आएको तर त्यसले मागलाई धान्न सक्ने अवस्था नरहेको पनि प्रष्ट पारे । नेपालमा रासायनिक मल कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले विक्री वितरण गर्दै आएका छन् । तर सरकारले नै डिल गरेअनुसार मल ल्याउन नसकेपछि ति कम्पनीहरुमा पनि भनेजति मल हुने कुरै भएन । मल किन आएन भन्ने बारेमा मन्त्रालयका कुनै पनि स्पष्ट जवाफ दिन सक्दैनन् । सम्झौता अनुसार चालु आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिक टन मल नेपाल आयात हुनुपर्ने हो । तर, यो आर्थिक वर्ष सकिनँ केही दिन मात्र बाँकी रहँदा पनि सो मल आएन । कृषि मन्त्रालयका एक सहसचिवले भने, ‘भारतले मल दिन्छु, दिन्छु भनिरहेको थियो तर अहिले आएर के के बहाना बनाएर मल दिनमा आनाकानी गरिरहेको छ । अझै भारतसँग छलफल र डकुमेन्ट आदान प्रदान भइरहेको छ ।’ असारे खेतीका लागि मल ल्याउन भन्दै तत्कालीन कृषिमन्त्री महेन्द्रराय यादव आफँै पनि भारत गएका थिए । त्यहाँका सम्बन्धित मन्त्रीमा उनले एक हप्ताभित्र नै मल नेपाल पुग्ने आश्वासन दिएका थिए ।
मन्त्री यादव नेपाल आएपछि संसदमै गएर असारको १५ गतेभित्र भारतबाट रासायनिक मल आइपुग्ने दावी गरेका थिए । जीटुजीबाट आउने मलबाट नै किसानले धान रोप्न पाउने उनको प्रतिकृया थियो । तर ५० प्रतिशत भन्दा बढी रोपाईं भएर आइतबारसम्म पनि मलको हाहाकार उस्तै छ । भारतबाट मन्त्री फर्किसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरु पनि मल ल्याउनकै लागि भारत गएका थिए । उनीहरु पनि खाली हात फर्केका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडका एक कर्मचारीले भने, ‘भारतले मल दिने भनेको छ, तर कहिले दिन्छ अहिलेसम्म निश्चित भएको छैन, भारतको कुरा बुझ्दा यसपटकको धान रोपाईंमा त्यहाँको मल प्रयोग गर्न नपाइने देखियो ।’
पाँच वर्षका लागि भएको सम्झौताको एक आर्थिक वर्ष समाप्त हुँदा नेपालले सम्झौता बमोजिम एक आर्थिक वर्षमा पाउने एकलाख ५० हजार मेट्रिक टन मल गुमाएको छ । सम्झौताअनुसार एक वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने भनिएको छ । अब साउनमा भारतले मल दियो भने १७० हजार मल दिनुपर्ने हुन्छ ।
तर सरकारले भारतबाट मल ल्याउन नसकेपनि साइकलमा भारतसंगको सीमा नाकाबाट मल ओसार्नेहरुका कारण झापा तथा मोरङका केही बजारहरुमा निजी पसलहरुमा केही मात्रामा र कहिलेकाँही मल पाइने गरेको जानकारहरु बताउँछन् । तस्करी गरेर ल्याएको मलले भने कतिपय किसानलाई सामान्य राहत मिलेपछि यसबाट समस्याको पूर्ण समाधान हुन नसक्ने प्रष्ट छ ।
धान….किसानहरुलाई रासायनिक मल भनेको समयमा नपाउँदा लगाएको धानबाली भनेजस्तो उत्पादन नहुने हुन्छ । यसबाट मर्कामा पर्ने भनेका किसानहरुनै हुन्  ।

Author

You may also like