दमक/ दमक प्रज्ञा प्रतिष्ठानले दमकका विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
शनिवार प्रतिष्ठानको चौँथो स्थापना दिवसको अवसर पारेर दमकमा आयोजित समारोहकाविच सम्मान गरेको हो । प्रतिष्ठानले एकैसाथ ६ वटा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले फरक–फरक विधामा पुरस्कार वितरण गरेको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारी दिए ।
पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी रुपैयाँ ५१ हजार रहेको यसअघि नै जानकारी गराइएको थियो । यस्तै २१ हजार राशीको दमक प्रज्ञा संस्कृति पुरस्कार डाक्टर सोमबहादुर धिमाललाई, रु २१ हजारकै दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावतीलाई प्रदान गरिएको छ । यसरी नै रु. २१ हजारकै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई र २१ हजार रुपैँया नै रहेको दमक प्रज्ञा विज्ञान तथा प्रविधी पुरस्कार जसहाङ्ग लिम्बुलाई प्रदान गरिएको हो ।
यसैगरी १५ हजार रुपैँया रहेको दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलीया श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यक्रममा अध्यक्ष अधिकारीले बार्षिक कार्यक्रमको जानकारी समेत गराएका छन् ।
कार्यक्रममा बिभिन्न क्षेत्रबाट आएका साहित्यकारले आफ्ना श्रृजना वाचन गरेका थिए । त्यस्तै बिभिन्न जातका जातीय सस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ रहेका थिए । भने कार्यक्रममा भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना लगायत स्थानीय साहित्य क्षेत्रका सर्जकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संस्कृतिका झाँकीनाच र साहित्य कला संगम दमकका कलाकारहरुले मनोरञ्जन दिएका थिए । यसैविच दमक पुस्तकालयको समुद्घाटन गरिएको छ भने विभिन्न श्रष्टाहरुका पुस्तक विमोचनसमेत गरिएको छ ।