देश–समाज स्वास्थ्य

बालीमा विषादीको प्रयोग बढ्यो

    विमल लामिछाने
 दमक/  कृषक र सरकारी स्तरबाटै अग्र्यानक उत्पादनका लागि जोड दिदै आएपनि झापामा विषादीको प्रयोग घट्न सकेको छैन । नेपालमा कृषि बालीमा बर्सेनि विषादी प्रयोग बढ्दै गइरहेको छ । नेपालमा ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको छ भने अन्नबाली र फलफूलमा सोही मात्रामा प्रयोग हुँदै आएको विषादी मापन केन्द्रले जनाएको छ ।
नेपालको खाना र खेतीपातीको अवस्था रसायन र विषादिमा आधारित छ । यसले समग्र खानेकुरा विषाक्त भएको र सोही खानेकुरा दैनिक खानामा खाईदा विभिन्न किसिमका रोग निम्तिने क्रम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
प्रत्येक वर्ष विषादी न्यूनीकरणका लागि कृषि ज्ञान केन्द्र तथा पालिकास्तरीय कृषि केन्द्रमा बजेट विनियोजन हुने गरेको छ । प्रायः बजेट औपचारिक कार्यक्रममा मात्रै सीमित हुने गरेको छ । जसका कारण उद्देश्यअनुसारको उपलब्धि हात परेको छैन ।
नेपाल सरकारले प्रत्येक वर्ष रासायनिक मल आयातका लागि ठूलो हिस्सामा बजेट छुट्याउने गर्दछ । आर्थिक वर्ष २०७६÷७७ मा नेपाल सरकारले मल खरीदको लागि ११ अर्ब रुपैयाँ छुट्याएको थियो । तर, रासायनिक मलको आयात भने उक्त आर्थिक वर्षसम्मको नै सबैभन्दा धेरै १९ अर्ब रुपैयाँ बराबरको भएको छ जुन सरकारले छुट्याएको बजेट भन्दा निकै धेरै हो । विगत दश वर्षको तथ्याङ्क हेर्दा रासायनिक मलको आयात तीन गुणाले बढेको देखिन्छ ।
पछिल्लो समय युरिया मल नै बढी मात्रामा आयात र खपत हुने गरेको पाइन्छ । रासायनिक मलसँगै रासायनिक विषादीको आयात पनि बढ्ने क्रममा नै रहेको छ । आर्थिक वर्ष २०७६÷७७ मा १७ अर्ब रुपैयाँको रासायनिक विषादि आयात भएको छ । नेपालमा विषादीहरूमध्ये कीटनाशक विषादीको प्रयोग उच्च रहेको छ । हरेक वर्ष विषादिको प्रयोग १० देखि २० प्रतिशतले बढ्दै गएको तत्थांकले देखाउँछ । यस्ता रासायनिक मल तथा विषादिको प्रयोगले माटो र मानव स्वास्थ्यमा भने प्रतिकूल असर परेको छ । सँगै नेपाल सरकारले प्रतिबन्धित गरेका विषादी समेत फरक नाममा अहिले पनि प्रयोग भइरहेको छ ।
तथ्याङ्क अनुसार नेपालमा ९ हजार ३ सय ६१ हेक्टर जमीनमा प्रमाणित प्राङ्गारिक खेती समेत छ । तर, यो प्राङ्गारिक खेती कफी, अदुवा, चिया र अलैंची जस्ता निर्यात हुने वस्तुहरूमा मात्र सीमित रहेको छ ।
रासायनिक मल र विषादीले हाम्रो खाना र खेतीपाती निरन्तर कमजोर हँुदै गएको छ । हरेक वर्ष विषादीको प्रयोग १० देखि २० प्रतिशतले बढ्दै गएको तथ्यांकले देखाउँछ । यस्ता रासायनिक मल तथा विषादीको प्रयोगले माटो र मानव स्वास्थ्यमा भने प्रतिकूल असर परेको स्वास्थ्य विज्ञहरु बताउँछन् ।
नेपालको कृषि क्षेत्रमा उत्पादन क्षेत्रको हिसाबले खाद्यान्न बालीले सबैभन्दा धेरै हिस्सा ओगटेको छ । खाद्यान्न बालीमध्ये पनि धान बाली प्रमुख रहेको छ । धान पश्चात क्रमशः मकै, गहुँ, कोदो, जौ र फापर पर्दछन् । पछिल्लो दश वर्षमा गहुँको उत्पादन क्षेत्रमा केही ह्रास आएको देखिन्छ भने मकैको उत्पादन क्षेत्रमा केही वृद्धि भएको देखिन्छ । तर यी सबै जनगदेबालीपनि विषादी मुक्त भने छैनन् ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी भारतबाट नेपाल भित्रिँदा पनि सरकार उदासीन छ । परीक्षणविना भित्रिने त्यस्ता तरकारी सीधै उपभोक्ताका भान्सामा पुग्छन् । विषादी र आर्सेनिकको मात्रा मापदण्डभन्दा बढी भएकाले खाडी राष्ट्र र युरोपमा प्रतिबन्धित त्यस्ता तरकारी नेपालमा निर्वाध रूपमा आउँछन् ।
तरकारी तथा फलफूलमा राखिने विषादीको मापन गर्न मुलुकका ६ स्थानमा खोलिएका प्रयोगशालाको सदुपयोग नहुँदा विषादीको पूयोग बढेको हो । भारतमा उत्पादन हुने करेला, आलु, भन्टा, परबल, सिमी, बोडी, मटर, फर्सी, काउली, बन्दा, काँक्रो, खुर्सानी, हरियो तरकारी, खुर्सानी, भिण्डी, आँप, स्याउ, अंगुरलगायत तरकारी र फलफूलमा अत्यधिक विषादी भेटिएको स्वयं भारतीय अखबारले नै उल्लेख गरेका छन् । तोकिएको मापदण्डभन्दा बढी विषादी र आर्सेनिकयुक्त तरकारी र फलफूलको नियमित उपभोगले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गौलाको खराबी, आँखाका समस्या, आमाको पेटमा भएको बच्चालाई असर पर्नेदेखि शारीरिक असरसहितका बच्चा जन्मिने डाक्टरहरुले बताउँदै आएका छन् ।
हृदयाघात, पक्षाघात र मानसिक रोगसम्मका गम्भीर रोग लाग्छन्। अनुगमन पद्धति राम्रा भएका मुलुकमा तरकारीमा विषादीको मात्रा परीक्षण नभई त्यस्ता तरकारी र फलफूल बजारमा जान पाउँदैनन् । सर्वसाधारण जनताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने त्यस्ता तरकारी विना परीक्षण बजारमा जानु पनि गम्भीर चिन्ताको विषय हो, जसतर्फ सरकारको ध्यान पुग्नुपर्छ ।
विषादी प्रयोग नगरिनहुने हो भने सहरबजारमा सर्वसाधारण उपभोक्ताले उपभोग गर्ने फलफूल र तरकारीमा विषादीको मात्रा परीक्षण नभई बजारमा नजाने संयन्त्र विकास गरिनुपर्छ । किसानलाई सकेसम्म विषादीको कम प्रयोग गरेर या अग्र्यानिक तरकारी उत्पादनमा प्रोत्साहन गर्नुपर्छ । यी सबै कुराले नेपालको खेतीपाती निरन्तर ओरालो लागेको कुराको पुष्टि हुन्छ । यसबारेमा सबै तह र तप्कामा गम्भीर समीक्षा गर्न ढिलागर्नु हुँदैछ ।

Author

You may also like