एउटा सामान्य बुझाई छ, प्रकृतिले जुन रुपरेखाको फल दिएका छन् त्यो हाम्रो शरीरका अंगको स्वरुपसँग मिल्दोजुल्दो हुन्छ । अतः हाम्रो अंगसँग जुन फलको रुपरेखा मिल्छ, त्यसको सेवनले सोही अंगलाई फाइदा गर्छ ।
जस्तो स्याउको समग्र आकार करिब मुटुसँग मिल्छ । यसको सेवन मुटुको लागि फाइदा हुने बताइन्छ । राजमाको रुपरंग मिर्गौलासँग मिल्छ । यसको सेवनले मिर्गौलालाई स्वस्थ राख्न सहयोग हुने बताइन्छ । यस्तै ओखरको भित्री तह पनि हाम्रो मस्तिष्कको स्वरुपमा हुन्छ । त्यसो भए के यो फल मस्तिष्कको लागि उपयोगी छ त ?
ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । ओखरमा केहि शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थ्रि फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । त्यसो त ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।
ओखरमा सोडियम कम र कालोस्टर पनि पटक्कै हुँदैन । यसमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि–६, बि–१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।
ओखरका फाइदाहरु
-छिप्पिएको ओखरको बोक्रालाई घाममा सुकाएर कुट्ने र बोक्राको धुलोले दाँत माझ्ने गर्नाले दाँत राम्रो चम्किलो हुनाको साथै बलिया हुन्छन् ।
-एक/दुईवटा ओखरको गुदी खानाले बल वीर्यलाई बढाउँछ ।
-यसले आमबातलाई नाश गर्छ ।
-उमेर पुगिसकेको नानीहरुको ओछ्यानमा पिसाब गर्ने बानी छ भने ओखरको गुदी नियमित खुवाउनाले बिस्तारै त्यस्तो बानी हटेर जान्छ ।