स्वास्थ्य

दाँत सौन्दर्यकै एक हिस्सा

दाँत, शरीरको यो हिस्सा बहुउपयोगी छ । दाँतको सम्बन्ध मूलत, दुई कुरासँग छ । एक स्वास्थ्य, दोस्रो सौन्दर्य ।
पहिलो कुरा, दाँतको मूख्य काम खानेकुरा चपाउनु हो । यसर्थ दाँतको सम्बन्ध सम्पूर्ण शारीरिक स्वास्थ्यसँग पनि छ । किनभने जब दाँतले राम्ररी चपाएर खाइन्छ, तब पाचन प्रक्रिया सहज रुपले हुन्छ । भनिन्छ, खानेकुरा राम्ररी चपाएर खानुपर्छ ।
राम्ररी चपाएर खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्छ । पाचन यन्त्रलाई अनावश्यक भार पर्दैन । यसरी खानेकुरालाई टुक्रा-टुक्रा गर्नका लागि बलियो दाँत चाहिन्छ । बलियो दाँत मात्र भएर पनि पुग्दैन, सफा र स्वस्थ्य पनि हुनुपर्छ । किनभने दाँत फोहोर भयो भने हामीले जे-जति खानेकुरा खान्छौं, त्यो सबै दुषित हुन्छ । मुखमा खानेकुरा चपाउन थालेपछि त्यो सफा हुनुपर्छ । यसका लागि मुख तथा दाँत पनि सफा हुनुपर्छ ।
दोस्रो कुरा, कवि, कलाकारले सौन्दर्यको वर्णन गर्दा दाँतको प्रसंग पनि उल्लेख गर्ने गर्छन् । कुनै युवती वा युवक राम्रो छ भनेर पुष्टि गर्नका लागि उनीहरुको दाँतको पनि व्याख्या गरिन्छ । ‘मिलेका दाँतका पंक्ति’, ‘अनारदाना जस्तै मिलेका दाँत’ यस्तै-यस्तै ।
दोहोर्‍याइरहनु परेन, दाँत सौन्दर्यकै एउटा हिस्सा हो । समग्र अनुहारकै सौन्दर्यमा दाँतको अहंम् भूमिका हुन्छ । नमिलेका, फोहोर, दुर्गन्धित दाँतले सौन्दर्य नै बिगारिदिन्छ ।

Author

You may also like