दमक/कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै झापाको विर्तामोड नगरपालिका वडा नम्वर ५ का एक होटल संचालकलाई जरिवाना तिराइएकोमा चेम्बर अफ कमर्श झापाले विरोध जनाएको छ ।
बैंक, मुख्य सडकमा यातायात, खाद्यान्नका पसलहरु निश्चित समयसम्म हुने खुलापनले कोरोना नबढ्ने तर एउटा होटल संचालकले होटल खोल्दा कोरोना संक्रमण फैलिन्छ भन्नु विभेदकारी भएको चेम्बर अफ कमर्श झापा जिल्ला कार्यसमितिका अध्यक्ष तथा केन्द्रीय कार्यकारी सदस्य ओमकृष्ण विमली लगायतले बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी विज्ञप्ति जारी गर्नेमा दमक चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र ढकाल, कन्काई चेम्बर अफ कमर्शका अध्यक्ष भिनाल तिम्सिना, मेची चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष रविन्द्र कुमार बस्नेत, अर्जुनधारा चेम्बर अफ कमर्शका अध्यक्ष पुष्पराज रेग्मी, प्रदेश नम्वर १ का उपाध्यक्ष सन्तोष अग्रवाल र महासविच प्रदिप खरेल रहेका छन् ।
विज्ञप्तिमा समस्याको समाधान धरपकड र जरिवाना नभएको पनि उल्लेख गरिएको छ । साथै निषेधाज्ञा सफल पार्न सचेतना जगाउने काम गर्नुपर्नेमा पनि विज्ञप्तिमा जोड दिइएको छ । होटल खुला गरी संचालन गरेको भन्दै हालै मात्र जिल्ला प्रशासन कार्यालय झापाले संचालकलाई पक्राउ गरी जरिवाना तिराएको बुझिएको छ ।