समाचार

सताक्षीधामका साधुसन्तलाई खाद्यान्न संकट

दूधे/ लामो समयदेखिको बन्दाबन्दीका कारण आर्थिक स्रोत अभावले झापाको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामका साधुसन्तहरुलाई खाद्यान समस्या हँुदै गएको छ । शिवसताक्षी नगरपालिका– ११ स्थित सताक्षी धाममा नियमित आउने भक्तजनबाट प्राप्त हुने चन्दा, भेटी, दान र सहयोग बन्द हँुदा कुटीमा रहेका साधुसन्तलाई दैनिक उपभोग्य खाद्यान्नमा समस्या देखिन थालेको हो ।
धामपरिसरमा सञ्चालनमा रहेको गुरुकुल विद्यालयमा समेत संकट देखा परेको छ । यहाँ गुरुकुलम संस्कृति आवासीय विद्यालयमा २५ जना बटुकहरु अध्ययनरत छन् । उनीहरुको शिक्षादेखि खाना र आवासको व्यवस्था सताक्षीधाम मन्दिर विकास समितिले गर्दै आएको अध्यक्ष प्रसाद सुब्बाले बताए । त्यस्तै धाममा सञ्चालन गरिएको गौशालामा तीन सय बढी गाई बस्तुलाई आहारा समेत जुटाउन मुश्किल हँुदै गएको छ । दैनिकजसो देश विदेशबाट आउने भक्तजनको भीड समेत सुनसान रहेको छ । कोभिडको पहिलो बन्दाबन्दीदेखि नै लागेको ताला अझै खुल्न नसक्दा धाममा आश्रित बटुक, साधुसन्तहरुलाई खानमा नै समस्या आउन थालेको अध्यक्ष सुब्बाले बताए ।
उनका अनुसार धाममा रहेका सबैको मुख्य आम्दानीको स्रोत भक्तजनहरुनै भएको भएपनि पछिल्ला बन्दाबन्दीले गर्दा दैनिक जीवनयापनमा कठिनाई हुँदै गएको छ । अन्य आम्दानीको स्रोत केही छैन, यहाँ आउने भक्तजनले चढाएको भेटी, दान, सहयोग नै यहाँको मुख्य आम्दानीको स्रोत हो अध्यक्ष सुब्बाले जानकारी दिए । सताक्षीधाम मन्दिर परिसरमा रहेका कुटीहरुमा अहिले पनि १९ जना साधु, सन्त, माताहरु स्थायीरुपमा बस्दैआएका छन् । उनीहरुलाई दैनिक भोजन जुटाउन समेत अहिले धामलाई समस्या भएको छ । भक्तजनहरुले साधु सन्तलाई लत्ताकपडादेखि अन्नलगायतका खाद्यान्न समेत सहयोग गर्दे आएका थिए । तर यो क्रममा एक वर्षदेखि भक्तजन आउन सकेका छैनन् । धार्मिक स्थलको ढोकामा ताला लागेको छ । धार्मिकस्थलमा सञ्चालन गरिएको गोलोक गोबद्र्धन गौशालामा मात्र तीन भन्दा बढी विभिन्न स्थानीय तथा निर गाई, गौरीगाई, कामधेनुलगायत प्रजातिका गाई गोरु संरक्षण गरिएको छ । पहाड तराईको संगम स्थलमा रहेको धार्मिक स्थल प्राकृतिक रुपमा नै अति सुन्दर मनमोहक रहेको छ । सताक्षी नदीको किनारमा अवस्थित पवित्र धार्मिक तिर्थस्थलमा प्रत्येक वर्षजसो देशबिदेशका गरी झण्डै एक लाख धार्मिक पर्यटक आउने गरेका थिए । यो स्थान एक वर्षदेखि सुनसान रहेको छ । साउन महिनामा मात्र झण्डै ३० हजारभन्दा बढी भक्तजन सताक्षी नदीमा स्नान गर्न आउने गरेका थिए । सतासीधाम जस्तै देशका अधिकांश तिर्थस्थल यतिखेर कोभिडका कारण प्रभावित बन्न पुगेका छन् ।

Author

You may also like