दमक/ नेकपा माओवादी केन्द्रले दमकमा सञ्चालनमा रहेको कोभिड– १९ विरुद्धको खोप अभियान कार्य व्यवस्थित र प्रभावकारी बनाउन माग गरेको छ । स्थानीय सरकारले सञ्चालन गरिरहेको खोप वितरण कार्य प्रभावकारी नभएको भन्दै माओवादी केन्द्रले स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्थानीय सरकार गम्भीर भएर अघि बढ्न आग्रह गरेको छ । पार्टीका दमक नगर सचिव तिर्थराज बस्नेत (शंकर) ले खोप वितरणका निम्ति बनाइएको मापदण्ड कहिँ पनि पालना नभएको, स्वास्थ्य जस्तो संवेदनशिल विषयमा नगरपालिकाले दलीय सहकार्य र समन्वय नगरेको आरोप लगाएका हुन् ।
पार्टी केन्द्रीकृत खोप केन्द्र निर्धारण गर्ने र हजारौंको भीड जम्मा गरी कोरोना सङ्क्रमण फैलाउने कार्य स्वयं दमक नगरपालिकाले गरिरहेको भन्दै उनले भने, –‘तोकिएको उमेर समूहलाई वितरण गर्नुपर्ने खोपमा चरम दुरुपयोग भएको छ ।’
बेवारिसे हस्ताक्षरकर्ता खडा गरी विधि र पद्धति बिनाको कोभिड १९ को खोप समन्वय समिति एवं निर्णयका नाममा इलाका प्रहरी कार्यालय दमकमा खोप केन्द्र राख्ने र नागरिक माथि थप त्रास सिर्जना गर्ने कार्य झनै खेदजनक भएको उनले उल्लेख गरेका छन् । खोप लगाउन आउने सामान्य नागरिकलाई दुःख दिने प्रयोजनका लागि गरिएका यस्ता हर्कतहरु तुरुन्त रोकि सबै वार्डहरुमा विकेन्द्रीत खोप केन्द्र सञ्चालन गर्न उनले माग गरेका छन् । अन्यथा जनताको दुःख दिने कार्य विरुद्ध माओवादी केन्द्र रमिते बन्न नसक्ने उनले स्पष्ट पारेका छन् ।