तेह्रथुम/ तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराको निधनमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले तिम्सिनाका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबारसार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै सबै वडा र स्कुलमा बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले एक दिनका लागि सार्वजनिक बिदा दिएको जानकारी दिए । उनले भने, ‘बिदा त दिन नमिल्ने हो, तै पनि उपाध्यक्षकै ससुराबा भएकाले बिदा दिने भन्ने कुरा आएपछि सार्वजनिक बिदा दियौँ, गाउँपालिका कार्यालयकै छिमेकी पनि हो ।’ तर गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङले भने गौतमको नाममा नभई उनको मलामी सबै जानुपर्ने भएकाले बिदा दिएको बताए । ‘समाजसेवी त होइनन्, उहाँ हाम्रो छिमेकी पनि हो,’ उनले भने– सबै मलामी जानुपर्ने भएकाले एक दिनलाई बिदा दिएका हौँ ।’ उपाध्यक्षका ससुरा गौतमको यही साउन २१ गते राति ११ः४० बजे ९६ वर्षको उमेरमा निधन भएको हो ।