दमक/ नेपाल–चीन मैत्री औद्योगिक पार्कले झापाको दमक नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । नगरपालिकामा एक संक्षिप्त कार्यक्रम गरी नगरपालिकालाई कोभिड–१९ लक्षित स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराइएको नेपाल–चीन औद्योगिक पार्क व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द थापाले बताए ।
उनका अनुसार नगरपालिकाको पहल तथा औद्योगिक पार्क व्यवस्थापन समितिको समन्वयमा १५ थान अक्सिजन कन्सन्टे«टर मेसीन ,१६ हजार थान के.९५ मास्क उपलव्ध गराइएको हो । ती स्वास्थ्य सामाग्री अध्यक्ष थापाले नगरप्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरे ।
दमकमा पछिल्ला दिन कोरोना संक्रमण बढ्दै गएपछि त्यसबाट हुन सक्ने जोखिम नियन्त्रण तथा रोकथामका लागि औद्योगिक पार्कमार्फत् औद्योगिकस्थल रहेको नगरपालिकालाई ती स्वास्थ्य सामाग्रीहरु चीनबाट प्राप्त भएको अध्यक्ष थापाले जानकारी दिए । ती स्वास्थ्य सामाग्रीहरु दमक अस्पताल अन्तर्गतको कोभिड विशेष उपचार केन्द्रमा जडान गरी सञ्चालनमा ल्याइने नगर उपप्रमुख समेत रहेकी अस्पतालकी अध्यक्ष अधिकारीले बताइन् ।