गौरादह/ गौरादह नगरपालिकाभित्र बसोबास गर्ने विपन्न परिवारका नागरिकले नगरपालिकाको सिफारिसमा निशुल्क उपचार पाएका छन् । गौरादह नगरपालिकाको सिफारिसमा विभिन्न अस्पतालबाट नगरपालिकाका ६५ जनाले उपचार सेवा पाएका हुन् । आर्थिक वर्ष २०७७÷७८ मा नगरभित्रका विपन्न परिवारका सदस्यहरुले नागरिक उपचार कोषबाट ६ प्रकारका रोगहरुको उपचार पाएका हुन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित बजेटको प्रतिबिरामी १ लाख बराबरको उपचार पाएका हुन् ।
गौरादह नगरपालिकाको ९ वटा वडाबाट ६ प्रकारका रोगमध्ये सबैभन्दा बढी क्यान्सरका ३३ जना र सबैभन्दा कम स्पाइनल इन्जुरी र अल्जाइमरका १–१ जना बिरामीले उपचार पाएका छन् । त्यसैगरी, मुटु रोगका १४ जना, मिर्गाेला १३ जना, हेड ईन्जुरीका ३ जनाले उपचार पाएका छ ।
उपचार सेवा लिने विपन्न परिवारका नागरिकहरुमा सबैभन्दा बढी वडा नं १ का १९ जना र सबैभन्दा कम वडा नं ३ र ८ का २–२ जना रहेका छन् । यसरी उपचार पाउनेमा वडा नं २ बाट ४ जना, वडा नं ४ बाट १२ जना, वडा नं ५ बाट १० जना, वडा नं ६ बाट ४ जना, वडा नं ७ बाट ८ जना, वडा नं ९ बाट ४ जना रहेको नगर स्वास्थ्य सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।