गौरादह/झापाको गौरादह नगरपालिका वडा नं –९ बैगुन्धुराका किसानलाई कृषि उपकरण वितरण गरिएको छ । वडा भित्र रहेका किसानलाई च्यापकटर, स्प्रे ट्याङ्की, पानी तान्ने मोटर र बोयर जातका बोका÷पाठी वितरण गरिएको छ ।
किसानको जीवन स्तर उकास्ने उद्देश्यले कृषक समूह तथा किसानलाई अनुदानमा वडा कार्यालयले कृषि उपकरण वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०७७÷०७८ को वडा स्तरीय कृषि तर्फको योजनाबाट ५० प्रतिशत अनुदानमा च्यापकटर र स्प्रे ट्यांकी, ७५ प्रतिशत अनुदानमा बोयर जातका बोका ÷पाठी र २÷३ को पानी तान्ने मोटर ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । वडा भित्र रहेका २० जना किसानलाई च्यापकटर, ६५ जनालाई स्प्रे ट्यांकी, ६ जनालाई बोयर जातका बोका र ३ जना किसानलाई पाठी, २१ जना किसानलाई २÷३ को पानी तान्ने मोटर वितरण गरिएको हो । वडा कार्यालयले किसानलाई आय आर्जनमा बृद्वि गरी जीविकोपार्जनमा सहजताका लागि पशु पालक तथा खेती गर्ने किसानलाई उपयोगी हुने सामग्री वितरण गरेको छ । वडा कार्यालयले किसानलाई अति आवश्यक पर्ने कृषि उपकरण वितरण गरेको र यस उपकरणलाई सदुपयोग गर्न सके किसानलाई काममा सहज हुने साबिक बैगुन्धुरा गाविसका निवर्तमान गाविस अध्यक्ष सिताराम दाहालले जानकारी गराए । खाद्य बाली तथा तरकारीका बिरुवाहरुमा दवाई तथा भिटामिन लगाउन चार्जबाट चलाउन सकिने स्प्रे ट्यांकी पाएकोमा गौरादह –९ कि किसान निता प्रसाईंले खुशी ब्यक्त गरिन् । किसानहरुले परम्परा कालदेखि गर्दै आएको कृषि प्रणालीमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताउँदै थोरै समयमा धेरै काम गर्न सहयोग पुग्ने उद्देश्यले किसानहरुको माग बमोजिम कृषि सामग्री वितरण गरिएको वडा नं –९ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति सीताराम भट्टराईले बताए ।
गौरादह नगरपालिका भित्र बसोबास गर्ने अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेकाले किसानको जीवन स्तर उकास्न स्थानीय सरकारले कृषि सामग्री वितरण गरेको गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार साहले जानकारी गराए । नगरको सबै क्षेत्रको विकासका लागि स्थानीय सरकारले नगरको बजेट विनियोजन गरेको मेयर साहले जानकारी गराए । कार्यक्रमको संचालन वडा सचिव राम प्रसाद दाहाल र कर्मचारी केदारबाबु गिरीले गरेका थिए ।