काठमाडौँ — झन्डै तीन वर्ष लामो कतारमाथि साउदी अरेबियाले लगाएको नाकाबन्दीलाई हटाएको छ ।
नाकाबन्दी हटाएकोमा बुधबार नेपालले स्वागत समेत गरेको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाइएकोमा स्वागत गरेको हो ।
कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो ।
साउदी र उसनिकटका मुलुकहरूले कतारलाई असहयोग गरेपछि इरान, टर्कीजस्ता मुलुकहरूले साथ दिएका थिए ।
गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको हो । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् । मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न र खाडी क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने उल्लेख छ ।
मन्त्रालयले भनेको छ, ‘जीसीसीका सबै मुलुकहरूसँग राम्रो दुईपक्षीय सम्बन्ध छ । नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विसकाको शुभेच्छा राखेको छ ।’