देश–समाज राजनीति

झापाको कमल गाउँपालिकामा धमाधम विकास निर्माणका काम हुँदै

दमक/ झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा विकास निर्माणका कामहरु धमाधम हुन थालेका छन् । पूर्वपश्चिम राजमार्ग खण्ड अन्तर्गत सावित्रा चौक र रतुवामाई वृक्षारोपण आयोजनाको वनमा रहेको जनजातिहरुको कपुरखाना जोड्ने स्थलमा पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

सो पुल प्रदेश नम्वर १ सरकारको ३६ लाखको बजेटमा निर्माण भइरहेको बताइएको छ । पुल निर्माणको कार्य अधिकांश भएपनि त्यसको छेउमा पर्खाल लगाउने र माटो पुर्ने काम भइरहेको जनाइएको छ । कमल–५ का वडाध्यक्ष डम्बर बहादुर निरौलाका अनुसार सो पुलका लागि प्रदेश सरकारबाट ५० लाख बजेट छुट्टिएपनि ३६ लाखमा ठेक्का लागेको हो । सो पुल आदिवासी जनजातिहरुको शव गाडने क्रमम मलामीजन तथा सम्बन्धित व्यक्तिहरुलाई वन क्षेत्रमा जानका लागि सहज होस् भने निर्माण गरिएको हो । यसअघि त्यहाँ रहेको कल्भर्ट राजमार्ग खण्डको उत्तरमा पूर्वपश्चिम बग्ने खोल्सीमा वर्षे भेल आउँदा बगाएको थियो । यही असारभित्रमा पुल निर्माणको कार्य सकिने बताइएको छ ।

यसैगरी कमल–५ कै उत्तरी भेगमा रहेको साधु होलीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कार्य पनि धमाधम भइरहेको छ । साधुहोलीलाई सिमसार पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ४५ लाखको बजेटमा निर्माणको काम भइरहेको वडाध्यक्ष निरौलाले जानकारी गराए । उता सोही वडाको सिम्ले पश्चिम उत्तर रतुवा खोलामा १५ लाखको रकम खर्चेर तटबन्धन स्वरुप तारजाली लगाउने काम पनि भइरहेको उनले बताए । त्यसैगरी पाडाजुँगी चौकमा १० लाखको बजेमा कमल गाउँपालिकाको पहिचान झल्किने गरी कमलको फूलको स्तम्भ बनाउने काम शुरु गरिएको छ । गाउँपालिकाको नाम कमल भएको र सो को पहिचान झल्कियोस् भनेर कमलको फूलको स्तम्भ बनाउन थालिएको पनि वडाध्यक्ष निरौलाले जानकारी गराए । यि सबै निर्माण कार्य आर्थिक वर्षको अन्तिम महिना भएकाले असारभित्रमा पूरा गरिने बताइएको छ।

Author

You may also like