दमक। झापाको दमक नगरपालिकाले आज आर्थिक बर्ष २०७७।७८ को बजेट नीति तथा कार्यक्रम निर्माणका बारेमा सर्बदलीय छलफल गरेको छ । नगरपालिकाले पालिकाको सभाकक्षमा सर्वदलीय छलफलको आयोजना गरेको हो ।
प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको छलफलमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले चालू आर्थिक बर्षको हाल सम्मका योजना तथा कार्यक्रमहरुको प्रगतिको बिषयमा जानकारी गराउनु भएको थियो । वहाँले आगामी बर्षका लागि तय गरिएका केहि योजना तथा कार्यक्रमहरु छलफलका लागि प्रस्तुत गर्नु भएको थियो ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टीका नेकपाका नेता गगन पुरी, कांग्रेसका महासमिति सदस्य शेर बहादुर भट्टराई, नगरसभापति रोशन विष्ट, ढुण्डीराज भण्डारी , राप्रपाका राम थापा, आदिवासी जनजाती महासंघ दमकका पूर्व अध्यक्ष मोहन धिमाल लगायतले चालू आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रमका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।
छलफलमा नगरपालिकामा जनप्रतिनिधिहरुले राजनीतिक आस्थाका आधारमा कतिपय कामहरु गरेको भन्दै कतिपयले नगरपालिकाको कामको आलोचना समेत गर्नु भएको थियो ।