ज्येष्ठ आमा बुवालाई टेक्ने लौरो, हट व्याग र पौष्टिक खानेकुरा
चिसोमा ज्येष्ठ नागरिक प्रतिको दायित्व
कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ को कार्यालयले स्थानीय केही ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाको वार्षिक योजना तथा कार्यक्रमअनुसार कार्यालय हातामा विहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ८५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानस्वरुप उनीहरुलाई खादा ओढाएर टेक्ने लौरो र हट व्याग दिइएको छ भने केही पौष्टिक खानेकुरा जस्तै ः ओखर, काजु र बदाम पनि वितरण गरिएको छ ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप उनीहरुको जीवन सहज र गर्विलो बनोस् भनेर टेक्ने लौरो, हट व्याग र पौष्टिक खानेकुरा दिएर सम्मान गरिएको कमल–५ का वडाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष लाल बहादुर (एल.बी.) विष्टले बताए । उनले विगतका वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु गरिँदै आएको जानकारी गराउँदै अस्वस्थहरुलाई बिरामी अवस्थामा चिसोबाट बच्नका लागि हट व्याग, हिंड्डुल गर्न सहज होस् भनेर टेक्ने लौरो र शरीरको आवश्यकता पूर्ति गर्न पौष्टिक खानेकुरा बाँडिएको पनि प्रष्ट पारे । वडामा रहेका टोल विकास संस्थाहरुले विपन्नता र आवश्यकताका आधारमा पठाएका नामका आधारमा ति सामग्रीहरु वितरण गरिएको वडा सचिव अमृत कुमार साहले जानकारी गराए । वडाको यस्तो सम्मान देखेर कार्यक्रममा सहभागी ज्येष्ठ आमा बुवाहरुले पनि खुशी व्यक्त गरेका थिए । ति सामग्रीहरु वितरण कार्यमा वडा सदस्यहरु ओम कुमार प्रधान, चुरुङहाङ लावती, चन्द्रकला सुब्बा र भूमिका महरा सुनाम पनि सरिक रहेका थिए । ज्येष्ठ आमा बुवाहरुलाई वडा कार्यालय सम्म ल्याउने कुरामा टोल विकास संस्थाका अध्यक्ष र प्रतिनिधिहरु खटेका थिए ।