समाचार

दमकमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

दमक । झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता दमकमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन दमकस्थित कामाक्ष होटलमा आयोजना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले विजयी खेलाडी तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने बुद्धिचाल खेलाडीलाई प्रदेशको तर्फबाट प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिने घोषणा गरे । उनले खेलकुदको स्तर विगतको तुलनामा वृद्धि भए पनि खेलाडीमा अपेक्षित उत्साह र हौसला अभिवृद्धि हुन नसकेको बताए । खेलाडीलाई उपलब्ध गराइने सुविधा तथा अवसरमा राज्यले कन्जुस्याइँ गर्न नहुने उल्लेख गर्दै उनले खेलाडी प्रोत्साहन कार्यक्रमले खेलकुद क्षेत्रको विकासलाई थप गति दिने धारणा व्यक्त गरे । खेलकुद क्षेत्रलाई नबुझेका व्यक्तिहरूले नेतृत्व गर्दा पनि यस क्षेत्रमा विभिन्न समस्या देखिएको उनको भनाइ थियो ।


विशेष अतिथि तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले प्रतियोगीहरूलाई शुभकामना व्यक्त गर्दै बुद्धिचाल खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी उत्पादन हुनुपर्ने बताए । उनले यस्ता प्रतियोगिताले युवाहरूको बौद्धिक क्षमता, अनुशासन र रणनीतिक सोचको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे ।
कार्यक्रमका सभाध्यक्ष तथा झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष भुपेन्द्र निरौलाले प्रतियोगितामा १२ जना महिला र १२ जना पुरुष गरी २४ जना खेलाडी सहभागी रहेको जानकारी दिए । प्रतियोगिता कामाक्ष होटलमै सञ्चालन हुने र आगामी शुक्रबार फाइनल खेल सम्पन्न गरिने उनले बताए । कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, महासचिव धरमबहादुर लामा, सचिवालय सदस्य तथा प्रमुख निर्णायक निरञ्जन प्रजापति, सचिवालय सदस्य राजु ताम्राकार, सदस्य सुशिला गुरुङ, सदस्य रमिला पोखरेललगायतको उपस्थिति रहेको थियो ।

Author

You may also like